
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउन तयार नरहेको दावी गरेका हुन् ।
मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको आग्रह गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए । उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गरे ।
‘अनि कसरी उहाँहरूबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ? उनको प्रश्न थियो, ‘थेउरिटीकल्ली तपाईंहरुको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तवमात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन । तपाईंहरुको तपाईंसँग हाम्रो भनाई के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो–न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष । स्वच्छ पनि रहेन । निष्पक्ष पनि रहेन । यहाँहरूले अलिकति स्वच्छताको पक्षमा चाँही कुरा उठाउने भो ।’
अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताए । उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले एकपक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दावी समेत गरे । अध्यक्ष ओलीले भने, ‘मैले कसैले डिफेन्स गर्नु पनि छैन, विरोध गर्नुपनि छैन । म कुनै व्यक्तिको लागि जीवन समर्पण गरेर आएको मान्छे पनि होईन । मलाई केही लिनुदिनु छैन । तर लोकतान्त्रिक मूल्यमान्यता हुनुप¥यो । न्यायिक मान्यता हुनु प¥यो । कुनकुन बस्तुका कस्ताकस्ता लेनदेन भए ? अहिलेको रिफ्लेक्सन पाँच दलीय गठबन्धनको लिगल रिफ्लेक्शन हो । म संक्षिप्तमा भन्न चाहन्छु– न्यायालयलाई तत्काल सच्याएर लैजाने सम्भावना पनि मैले देखिरहेको छैन । किनभने यसलाई सच्याएर लैजान तपाई हामी कति तयार छौं त ? चोलेन्द्र शमशेरले राजीनामा दिँदैमा वा महाअभियोग लगाउँदैमा त्यो सच्याउने कुराको सुरुवात भए त ठिकै हुन्थ्यो । तर त्यो त सच्याउने कुराको सुरुवात होईन ।’
अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाउमा नलाग्ने स्पष्ट पारे भनि रातोपाटी मा लेखिएको छ ।