लेटाङ । लेटाङमा नगरवासीका लागि क्षयरोग (टीबी) को निःशुल्क परीक्षण अभियान सञ्चालन हुने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै एआई प्रविधि जडित एक्स–रे मेसिनमार्फत सम्भावित क्षयरोगका बिरामीहरूको निःशुल्क परीक्षण गरिने जानकारी दिएको हो।
नगरपालिकाका अनुसार फागुन १० गते लेटाङ–८ स्थित जाते स्वास्थ्य चौकीबाट अभियान सुरु हुनेछ। त्यसैगरी फागुन ११ गते लेटाङ–१ स्थित भोगटेनी माध्यमिक विद्यालयको प्राङ्गणमा परीक्षण सेवा उपलब्ध गराइनेछ। फागुन १२ गते लेटाङ–३ स्थित लेटाङ अस्पताल बिरनमा परीक्षण गरिनेछ भने फागुन १३ गते लेटाङ–७ वारङी स्वास्थ्य चौकीमा सेवा प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
नगरपालिकाले क्षयरोगका लक्षण देखिएका व्यक्तिहरू—जस्तै दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहनु, तौल घट्नु, ज्वरो आउनु, राति पसिना आउनु तथा छाती दुख्नु—भएका नगरवासीलाई अनिवार्य रूपमा परीक्षणमा सहभागी हुन आग्रह गरेको छ। एआई एक्स–रे मेसिनको प्रयोगबाट छिटो र प्रभावकारी रूपमा प्रारम्भिक पहिचान गर्न सकिने विश्वास लिइएको छ।
यस अभियानले क्षयरोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने, साथै समुदायमा रोगको फैलावट नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सबै नगरवासीलाई नजिकको तोकिएको स्थानमा उपस्थित भई निःशुल्क परीक्षण सेवा लिन अनुरोध गरेको छ।











