उर्लाबारी, फागुन १० । मोरङ–१ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले आइतबार उर्लाबारी नगरपालिका वडा नं.–५, १ र ६ मा उत्साहपूर्ण घरदैलो कार्यक्रम सम्पन्न गर्दै चुनावी माहोललाई थप तातो बनाएका छन्।
फागुन–२१ गते हुने निर्वाचनका लागि १६ जना उम्मेद्वार प्रतिस्पर्धामा रहे पनि उर्लाबारीका सफल मेयरका रूपमा पहिचान बनाएका फागोको अभियानले विशेष ऊर्जा र जनसमर्थन पाएको देखिएको छ।
वडा नं.–५ बाट सुरु भएको घरदैलो कार्यक्रम वडा नं.–१ हुँदै वडा नं.–६ मा पुगेर आइतबारका लागि सम्पन्न भएको थियो। अभियानभरि स्थानीय मतदाताको बाक्लो सहभागिता देखिएको थियो भने कांग्रेस कार्यकर्ता तथा युवाहरू उत्साहका साथ परिचालित भएका थिए।
घरदैलोका क्रममा फागोले मतदाताका गुनासा ध्यानपूर्वक सुन्दै तिनलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका अधुरा योजना, राजनीतिक उतारचढाव र अपूरा आश्वासनलाई अब परिणाममुखी काममार्फत अन्त्य गर्ने अठोट दोहोर्याए। “यस पटक मतदातामा अभूतपूर्व सचेतना देखिएको छ, अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको भविष्य रोज्ने समय आएको छ,” उनले भने।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै उम्मेद्वार बनेका फागो संघीय संसदमार्फत क्षेत्रको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउने योजनासहित मतदाताको आँगनमा पुगेका छन्।
घरदैलो कार्यक्रममा महासमिति सदस्य शोभा चेम्जोङ पालुङ्वा, अर्जुन तुम्रोक, सिता कार्की, तरुण दल केन्द्रीय सदस्य शचिन शाक्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो। युवा तरुणहरूको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा दिएको देखिन्थ्यो।
मोरङ–१ मा अहिले चुनावी सरगर्मी चरममा पुगेको छ । उर्लाबारीमा देखिएको जनलहरले फागोको पक्षमा सकारात्मक संकेत दिएको विश्लेषण गरिएको छ।










