चलचित्रमा ३० देखि ६२/६३ को जनआन्दोलन सम्मको दशक समयलाई चित्रण गरिएको छ। अझ खासगरी परिवतर्नकारी विभिन्न आन्दोलनहरुलाई समेत शिक्षक भुमिकामा जोडिएको छ।
पूर्ण बहादुरको सारंगी चलचित्र, निकै भावुक छ, र रुवाउने खालको छ, भनेर उधुम तवरले हल्ला चलाइयो ! चलचित्र हेरेर रोएका भिडियोहरु यात्रतत्र सामाजिक संजालाहरुमा देखेपछी कस्तो चै रहेछ त चलचित्र ? भनेर कौतुहलता जागेपछि म सहित मेरो गाँउ र जनता भेट्रान फुटबल कल्ब इटहरीका साथीभाई नै उर्लेर हल सम्म पुगेर चलचित्र हेरिसकेपछि चलचित्र बारे केहि लेखेर आफ्ना कुरा राख्न मन लाग्यो ।
मैले चलचित्र हेरेर जस्तो अनुभूत गरें त्यहि अनुभुतहरु तपाइँहरु माझ सेयर गर्दैछु ! मैले यसरि लेख्दै गर्दा चलचित्र हेर्नुहुने जनता भेट्रानका अध्यक्ष श्री रबिन केसी ज्यु संग लामो परामर्श भयो र त्यस परामर्शमालाई पनि मध्यनजर गर्दै चलचित्र बारे समीक्षात्मक विमतिका बिषय पस्कने दुस्साहस गरेको छु ।
१. आपत्तिपुर्ण शिक्षकको क्यारेक्टर ।
शिक्षक भनेको समाजको ऐना हो । नेपाली समाजले शिक्षकलाई आफ्नो जीवनको महत्वपूर्ण गुरुको रुपमा सनातनी सभ्यताको संस्कृति अनुसार हरेक गुरुपुर्निमामा पुज्ने गर्छ ।सबै शिक्षकहरु एकै प्रबृत्तिका हुदैनन् , शिक्षक पनि सकारात्मक र नकारात्मक दुवै प्रबृत्तिका हुन्छन् । तर मूलतः शिक्षकको प्रबृत्तिलाई सकारात्मक मानिन्छ र सम्मानित मर्यादाको रुपमा सम्मान गर्ने नेपाली समाजको संस्कृति हो । तर चलचित्रमा शिक्षकको एकतर्फी नकारात्मक भूमिका राखेर सबै शिक्षक नकारात्मक प्रवृतिको हुन्छन् भन्ने सन्देश दिन खोज्नुको अर्थ मर्यादित समाजमा खलल पुर्याउने अभिप्राय रहेको आभाष आउनु चलचित्रको दुख:द पक्ष देखियो ।
शिक्षकको भेषमा भुमिगत राजनीतिमा संलग्न रहेको भूमिकामा देखाइएको छ। परिवर्तनको लागि ज्यान माया मारेर भुमिगत राजनीतिमा लागेको शिक्षकको निर्वहन गरेको क्यारेक्टर मार्फत गन्धर्व कम्युनिटिलाइ भेदभाव गरेको चरित्र देखाइएको छ भने, देश र जनताको लागि भुमिगत राजनीतिमा लागेको शिक्षकले एउटा तमसुक गरि मौकामा चौका हानेको जस्तै गरि पुर्ण बहादुरको घर धितो झैँ लिएको चरित्र देखाएर पन्चायत बिरोधि राजनीतिक आन्दोलन तथा परिवर्तनकारी क्रान्तिहरुलाइ शिक्षकको भुमिका मार्फत चलचित्रले अपमान गरेको छ। शिक्षकको आवरणमा पंचायत बिरोधि वा परिवर्तनकारी संघर्षमा लागेको शिक्षकलाई चलचित्र भित्र नकारात्मक चरित्रमा चित्रण गरेर निर्माण पक्षले अन्याय गरेको छ ।
चलचित्रमा देखाइएको शिक्षकको भुमिका केवल व्यक्तिगत हुन सक्दैन। चलचित्रमा देखाइएको शिक्षक पात्रलाइ व्यक्तिको रुपमा बुझ्न थाल्यौं भने समग्र शिक्षण पेशाकै अपमान हुन जान्छ । चलचित्रमा एउटा पात्रलाइ शिक्षकको रुपमा देखाइन्छ भने त्यस शिक्षक पात्रले सिंगो शिक्षण पेशालाइ प्रतिनिधित्व गरेको हुन्छ।
चलचित्रमा त झन क्यारेक्टर मार्फत शिक्षकलाई पन्चायत बिरोधि राजनीतिक संघर्षमा संलग्न भएको रुपमा देखाइसकेपछी त्यस पात्रले न्यायपुर्ण राजनीतिक आन्दोलनहरुको प्रतिनिधित्व गरेको हुन्छ। प्रतिनिधित्वको यश अर्थमा शिक्षक क्यारेक्टरको एकतर्फी प्रवृत्तिको प्रस्तुतिले शिक्षण पेशा र न्यायपुर्ण राजनीतिक आन्दोलनहरुको गम्भीर अपमान गरेको छ।
शिक्षकको मुभिकामा दुइटा पात्र राखेर सकारात्मक/नकारात्मक, चरित्र पनि दुइटा नै देखाएको हुन्थ्यो भने चारितृक सन्तुलन मिल्थ्यो तर उक्त भुमिकामा एउटा मात्रै पात्रद्वारा एउटा नै चरित्र प्रस्तुत गर्नाले एकतर्फी प्रवृत्ति देखाएर अन्याय गरेको छ। गन्धर्वको भावनात्मक मिठासमा ज्यानै लिने जहर (बिष) मिसाएर मिसनरी चलचित्र जस्तो आभाष भएको छ। नत्र भने राजनीति र शिक्षण पेशामा सकारात्मक प्रवृत्तिले किन ठाउँ पाएन ?
२. सामाजिक सद्भाव भड्काउने दृश्य :- धार्मिक स्थल मन्दिर भनेको सनातनी समाजले गर्ने आस्थाको केन्द्र हो ! त्यसमाथि मन्दिरको पुजारी क्यारेक्टरलाई समेत नकारात्मक चरित्रमा एकतर्फी प्रस्तुत गरेर धार्मिक सद्भावमा चोट पुर्याएको छ ! पुर्ण बहादुर माग्दा-माग्दै एउटा मन्दिरमा पुग्छ र केही सम्वाद पछि मन्दिरको पुजारीले घोक्र्याएर निकाल भनी मन्दिरका प्रतिनिधिलाई आदेश दिन्छ र उनिहरुले घोक्र्याएर निकाल्दा पुर्ण बहादुर पर्खालको ढुङ्गामा ठोकिन्छन र पुर्ण बहादुरको मृत्यु यहि कारण हुन्छ।
यो दृश्यले सनातन सभ्यता बोकेको सनातनी समाज (हिन्दु समाज) लाई एउटा पुजारीको नकारात्मक चरित्र प्रस्तुत गरि त्यस क्यारेक्टर मार्फत बदनाम गर्न खोजिएको छ। पुर्ण बहादुर चर्चमा माग्न किन गएनन् ? पुर्ण बहादुर , गुम्बामा माग्न किन गएनन् ? पुर्ण बहादुर मस्जिदमा माग्न किन गएनन् ? एउटा सनातनी धार्मिक स्थलको पुजारीको कारण पुर्ण बहादुरको मृत्यु भएको दृश्य राखेर पुरै समाजलाइ गलत सावित गर्न खोजिएको छ।
नत्र भने त्यही दृश्यमा अर्को पात्र राखेर सकारात्मक पुजारीको क्यारेक्टर पनि हुनुपर्ने होइन ? धार्मिक सन्तुलन मिलाउनुपर्ने होइन ? सबै क्षेत्रमा असल खराब दुवै प्रवृत्ति हुन्छ, तर खराब मात्रै देखाएर साम्प्रदायिक किन बन्यो ? खराब प्रवृत्ति बोकेको क्यारेक्टरको अपोजिट असल क्यारेक्टर पनि हुनुपर्ने होइन?
३. नमिलेको तालमेल :- चलचित्र राजनीतिक बेसमा भन्दा बढी सामाजिक बेसबाट प्रारम्भ हुन्छ र टुङ्गिन्छ पनि । जो सङ्ग सम्पती छैन ऊ गरिब छ, ती सबै गरिबहरु चलचित्रमा देखाए जस्तै समाजको गन्धर्व क्यारेक्टर हो। याहा हरेक गरिब गन्धर्व जस्तै छन । तर सबै गरिब र गन्धर्वहरुको समान जीवनी छैन । समान भोगाई छैन । तर आर्थिक रुपमा अधिकांस गन्धर्वहरुको जीवनी समान भएपनी सामाजिक रुपमा पूर्ण बहादुरको जस्तै चै पक्कै छैन । चलचित्रमा पूर्ण बहादुर गन्धर्व भएकै कारण श्रीमती बाटुलीले छोडेर गएको चरित्र देखाएको छ भने त्यहि बाटुलीको अर्को चरित्र चेतनशील छ ।
हाम्रो पुर्खाले सारंगी बजाउदै मागेर जीवन गुजारा गर्दै आएपनि अब हाम्रो पुस्ता वा आफ्नो छोराले यसरि सारंगी बजाएर जीवन गुजार्न नपरोस् भन्ने चेतना भएको बाटुलीले आफ्नो श्रीमानलाई छोडेर जाने चरित्र निकै विरोधाभाष छ । विद्रोहको चेतना बोकेको बाटुलीको क्यारेक्टरलाई थप परिस्कृत गरेर आमाले पनि आफ्नो सन्तान प्रति गर्ने संघर्ष जोडिन नसक्नु चलचित्रको यो अर्को दुख:द पक्ष हो । किनकि आमा बाटुलीकै विद्रोहपूर्ण चेतनाकै कारण पूर्ण बहादुरको चेतमा बदलाव आएपछि पूर्ण बहादुरले छोरालाई पढाउने निर्णय गर्छ । बलियो र महत्वपूर्ण रोल निभाईरहेकी आमा क्यारेक्टरलाइ चरित्र हिन देखाएर गलत संदेश दिन खोजिएको छ।
आफ्नो छोरोले गन्धर्वको जीवनी नाभोगोस र मागेर खान नपरोस मान्यतामा ससुरा र श्रीमान बिरुद्द छोराको लागि सचेत पुर्वक बिद्रोह छेडेकी बाटुली, हरि क्यारेक्टरको एउटा चिठ्ठीको बहानामा त्यहि छोरालाई छोडेर परपुरुष संग पोइला जान कसरी सक्छे ? याहानिर बाटुली क्यारेक्टरको तालमेल नै नमिलेको अनुभूत भयो ।
आमा भनेको सबैभन्दा ठुलो भगवान हो र आमा मर्यादालाई हाम्रो समाजले बहुतै सम्मान गर्छ ! जसरी पूर्ण बहादुर गन्धर्व सामाजिक भेदभावमा परेको कथा देखाएर समाजलाई दोष दिन खोजिएको छ त्यसरी नै गन्धर्व भएकै कारण गन्धर्वको श्रीमतीहरु पोइला जाने चरित्रको कथा देखाउदा समग्र आमा सामाज र महिला समाज प्रति पनि दोष थोपर्न खोजिएको भन्दा अयुक्ति पक्कै नहोला ।
चलचित्रमा मूलतः समाजले गन्धर्व समुदायलाई कस्तो हदसम्म भेदभाव गर्छ अथवा मान्छेको रुपमा स्विकार गर्दैन भन्ने बिषयलाई चलचित्रको प्रमुख कथा बनाइएको छ, र यहि बिषयलाई प्राथमिकता दिएर चलचित्र निर्माण भएको देखियो ! तर आश्चर्य चै केहो भने चलचित्रमा देखाए जस्तै ३०-४० को दशकतिर सामाजिक रुपमा गन्धर्व जातिको अवस्था वा जीवनी ठिक त्यस्तै थियो भनेर पत्याउने आधार अलि कमजोर छ ।
हाम्रो नेपाली समाजमा थुप्रै अनेकन समस्या भएपनी अपवादलाई नजरअन्दाज गर्ने हो भने जब घरमा कोहि गरिब वा बेसाहारा मानिस माग्न आएको छ भने घरमा माग्न आएको पात्रलाई दुरव्यवहार सहित खालि हात पठाउने हामी नेपालीहरुको सांस्कृतिक चरित्र होइन ।
अझ झन राजाहरुले आफ्नो दरबारमा गन्धर्व संगीतको कार्यक्रम आयोजना गरेर सम्मान गर्ने प्रचलन रहेको कुराहरु कहिँकतै पढेको सम्झना पनि छ भने गन्धर्वको संगीत सुन्नकै लागि पनि मानिसहरुले आफ्नो गाउँघरमा कार्यक्रमहरु आयोजना गर्थे भन्ने पनि सुनेकै हो । नेपालमा संगीतको विकासक्रमको प्रारम्भ देखि नै सारंगी instrument स्थापित मौलिक बाजा हो, र गन्धर्व समुदायले गाउँठाउमा सारंगी व्यवसाय पनि गर्थे भनेर सुनियकै हो । यस हिसाबले पनि गन्धर्व जाती सामाजिक बहिस्करणमा परेको झैँ जस्तो गरि चलचित्रमा देखाएर अन्याय भयोकि झैं लाग्छ ।
पूर्वीय दर्शन वा सनातनी सभ्यता भएको समाजले संस्थागत सामाजिक बहिस्कार गर्दैन । होला कहिँकतै अपवादका घटनाहरु, यदि अपवादका नकारात्मक घटनाहरुलाई संस्थागत रुप दिएर पर्दामा उतार्ने हो भने सकारात्मक अपवादका घटनाहरुलाई पनि त समेट्नु पर्ने हो । अनि न कथाको सन्तुलन मिल्छ ।
चलचित्रमा केहि अनावश्यक क्यारेक्टर वा रोल रहेको अनुभूत भयो । नेपाली चलचित्रमा विजय बराल र बुद्दी तामांग लगभग संगसंगै उदाएका तारा हुन् । विजय बराल जति सफल छन् त्यतिनै बुद्दी तामांग पनि सफल कलाकार हुन् । तर बुद्दी तामांगको रोल आवश्यक रोल हो जस्तो नै लागेन । बुद्दी तामांगको रोल धेरै पनि छैन । जम्मा जम्मी एक भरियाको रोल छ । जोडजाड गर्ने हो भने लगभग प्रकाश सपुत उर्फ कान्छा क्यारेक्टरको भन्दा पनि कम्जोर र थोरै नै रोल छ । चलचित्रमा बुद्दी तामांगलाई फितलो अझ अनावश्यक रोलमा राखेर ओझेल पारिएको छ । धेरै पछि चलचित्र लाइनमा प्रबेष भएका प्रकास सपुतलाई इफेक्टिभ (बलियो) रोल दिएर बुद्दी तामांग प्रति अन्याय भएको महसुस गर्न सकिन्छ ।
४. समाजको छेपारो प्रबृत्ति :
धेरै पक्षहरु नमिले पनि चलचित्रमा जब गरिबीलाई जति मार्मिक तवरबाट प्रस्तुत गरिन्छ चलचित्रले उतिनै भावुक बनाउछ। यो संसारमा बिक्ने र रुचाउने भनेकै गरिबको कथा हो । यस्तो दैनिक जीवनयापनमा गरिब देखेर हास्ने र होच्याउने समाज नै पर्दामा गरिबको कथा भएको चलचित्र हेरेर त्यहि समाजले बलिन्द्र धारा आँशु झार्छ । हुनत चलचित्र पनि एक व्यवसाय हो । व्यावसायिकतामा बिक्ने कुरा बेच्ने हो । तर चलचित्र भनेको समाजलाई देखाउने ऐना पनि हो ।
ऐना हेर्दा केहि हद अनुहार/आवरण देखिएने खालको हुनु चै पर्छ, ऐनामा अनुहार/आवरण देखिएन भने त्यो ऐना होइन । चलचित्र केवल मनोरंजनको साधन वा माध्यम मात्रै पनि होइन । चलचित्र त शिक्षा पनि हो । शिक्षाको साधन पनि हो र माध्यम पनि । यस हिसाबले पूर्ण बहादुरको सारंगीमा नकारात्मकताको एकतर्फी कथा/क्यारेक्टर देखाएर समाज र समुदाय प्रति नकारात्मक शिक्षा प्रवाह त भएको छैन ? भन्ने कोणबाट छेपारो समाजले मूल्यांकन नै गरेन ।
पूर्ण बहादुरको सारंगी चलचित्र हेरेर तथाकथित आँशु झारेर नाटक देखाउने त्यहि समाजका मानिसहरु हुन् जुन मानिसहरुले कामी ,दमाइ ,सार्की ,पोडे समग्र दलित भनिने समुदाय प्रति भेदभाव गर्दै आइरहेका छन् । दलितले छोएको खानु हुदैन भनेर तथाकथित व्यवहार गर्दै आएका मानिसहरु पूर्ण बहादुरको सारंगी हेरेर चलचित्रले रुवायो भन्दै रुदै सामाजिक संजालमा हलभित्र रोएको भिडियो पोस्ट गरेर दुनिया हसाईरहेका छन् ।
भेदभाव र गरिबको कथा उसैपनि भावुक हुन्छ । भेदभाव र गरिबको कथा संसारलाई भावुक बनाउने सबैभन्दा सस्तो सामान हो । यस्तो सामान छिटै बिक्छ ! यस्तो सामान खरिद गर्ने तिनै हुन्छन जसले भेदभाव गर्दै आइरहेका छन् र गरिबीलाई हेप्दै अपमान गर्दै आइरहेका छन् र सोहि प्रकृतिका मानिसहरुले चलचित्र हेरेर तथाकथित आँशु झारेर नाटक देखाउछन् ।
हाम्रो त्यहि समाज हो , जसले मन्दिर , गुम्बा , मस्जिद ,चर्चको नाउँमा लाखौँ दान गर्छ । तर त्यहि धार्मिक स्थल बाहिर भिख मागेर बसिरहेको असाहाय , बेसाहारा मानिसलाई बेवास्ता गर्छ । हाम्रो त्यहि समाज हो , जसले दलित भनिने समुदायलाई धारामा पस्न दिदैन । गरिबलाई मान्छे मान्दैन । तर पूर्ण बहादुरको चलचित्र हेरेर तथाकथित आँशु झार्छ , चलचित्र हेरेर रोएको भिडियो चैं दुनियालाई देखाउछ । भेदभाव र गरिबी बिरुद्दको संघर्ष /आन्दोलनलाई कहिल्यै समर्थन नगर्ने त्यहि छेपारे समाजले भेदभाव र गरिबीको कथाको चलचित्रलाई चैं सफल बनाइदिन्छ! हाम्रो जस्तो छेपारे समाज सायदै कहिँ नहोला।
नेपाली फ्लिम इन्डस्ट्रिजमा यतिखेर निकै ठुलो युद्द जिते झैं, निकै ठुलो क्रान्ति सफल भएपछिको खुसीयाली जस्तो देखिएको छ । हुन पनि भारतीय सिनेमा जगतले वर्चश्व जमाएको नेपाली समाजमा नेपाली सिनेमाले नै यस प्रकारको सफलता प्राप्त गर्न सक्नु नेपाली सिनेमा जगतको लागि महत्वपूर्ण उपलब्धि पक्कै हो । यस्तै चर्चा यतिखेर ब्यापक तवरमा चलिरहेको छ।
सिनेमाहरु मूलतः मनोरन्जनात्मक शिक्षा संग सम्बन्धित हुन्छन । मनोरंजनात्मक शिक्षा प्रदान गर्न सक्नु नै व्यावसायिक सिनेकर्मीहरुको मुल मन्त्र हो । सिनेमाहरु प्रायः निश्चित कारणहरु अन्तर्गत सफल हुन्छन् र सफल हुनको लागि केहि कारणहरु आवश्यक पर्दछन । केहि सिनेमाहरु इमान्दार पुर्वक सफल हुन्छन भने केहि सिनेमाहरु प्रोपोगान्डा चलाएर सफल हुन्छन् । पूर्ण बहादुरको सारंगी मूलतः प्रोपोगान्डा चलाएर नै सफल भएको हो ।
विजय बराल र बाल कलाकारको अभिनयलाई एकैछिन नजरअन्दाज गर्ने हो भने पूर्ण बहादुरको सारंगी समग्रमा औसत चलचित्र नै लाग्यो । खासगरी विजय बराल र बाल कलाकारको अभिनय बलियो भएको कारण चलचित्रले गति लिएको चै सत्य हो ! हल्ला गरिए जस्तो र छेपारे समाजले तथाकथित आँशु झारे जस्तो एकदमै उधुम भएको अनुभूत नै भएन ।
प्रदर्शनीमा आएको तिन दिन सम्म सो (show) नापाएपछी थिएटरको मिलेमतोमा जबर्जस्त रोएको भिडियोहरु टिकटकमा हालेपछि टिकटक मार्फत “पूर्ण बहादुरको सारंगीले रुवायो” अभियान चलाएर छेपारे समाजलाई आकर्षित गर्न सफल भयो । रुदै गरेका थुप्रै भिडियोहरु सामाजिक संजालमा आएपछि कस्तो चै रहेछ चलचित्र भनेर सबैमा कौतुहलता हुनु स्वाभाविक थियो । त्यहि कौतुहलताले हल सम्म तान्न सफल भयो । चलचित्रलाइ सफल बनाउन निर्माण पक्षले अपनाएको टेक्निकलाइ गलत भन्न त नमिल्ला तर सफल बनाउन आँशुको प्रोपोगान्डा चैं गरेकै हो भनेर भन्न चैं मिल्छ ।
५. पटककथा नभएको कथा मात्र : गरिब पूर्ण बहादुर “बा” ले “छोरा” कान्छालाई पढाउन अन्तत: आफ्नो सारंगी र घर नै बेचिदिन्छ ! छोरा डाक्टरी पास भएर घर फर्किदा उसको बा, पूर्ण बहादुरको मृत्यु भैसकेको हुन्छ ! यस्तो पारिवारिक अवस्थाबाट गुज्रेको छोरा कान्छाले कसरि विवाह गर्यो ? रोधी जितेर पूर्ण बहादुरले डोकामा बोकेर बाटुली ल्याय जस्तो डोकामा बोकेर श्रीमती ल्याउने सहरी कल्चरमा त हुदैन होला ? छोरा कान्छाले आफ्नो विवाहको खर्च कसरि जुटायो ? आफ्नो विवाहको सुचना त्यस्तो दुख गर्ने बालाई किन दिएन ?
कमल क्यारेटरमा रहेको छोरा कान्छाको सन्तान छोरी भएको कुन आधारमा देखाइयो ? कमल क्यारेक्टर छोरा कान्छाले आफ्नो छोरीलाई हजुरबा पूर्ण बहादुरको कथा सुनाउदै गर्दा उसले आफ्नो विवाह यसरि र यस्तो अवस्थामा भयो भनेर किन सुनाएन ? आफ्नो छोरीलाई सबै कथा सुनाउदै गर्दा त्यस कथामा कमल क्यारेक्टरको विवाह प्रसंग नै छैन तर उसको छोरी चैं छ ।
याहानिर पनि अलि तालमेल नमिलेको आभाष हुन्छ । तर यस्ता कुरा छेपारे समाजलाइ मतलब नै भएन । छेपारे समाजलाई त मात्र गरिबलाइ हेपेर गरिबकै दुखमा तथाकथित आँशु झारेर भिडियो पोस्ट गर्नु न थियो ।
६. चोरीको कथा बेचेर गरेको अपराध : पूर्ण बहादुरको सारंगी चलचित्रले “उपन्यास संग्रामपुर” बाट कथा र पात्रगत क्यारेक्टर समेत चोरी गरेको आरोप लागेको छ । चोरी गरेको आरोप संग्रामपुर उपन्यासका लेखक दा.शिव शंकर बस्याल आफैंले लगाएका छन् । यस्तो कुरा बाहिरिएपछी उक्त उपन्यास पढ्ने पर्ने बाध्यता आइलाग्यो । कहिल्यै नाम नसुनेको संग्रामपुर उपन्यास पढेपछि मा प्रस्ट भएँ । पूर्ण बहादुरको सारंगी चलचित्र त संग्रामपुर उपन्यास बाट चोरी गरेर बनाइएको रहेछ ।
७. पात्रगत क्यारेक्टर हुवहु :
पूर्ण बहादुरको सारंगीमा, संग्रामपुरमा, पूर्ण बहादुर गन्धर्व, रुपमान भरिया, छोरा कमल, छोरा समीर
यसरी नाम फरक पारेर क्यारेक्टर चैं हुवहु राखेको छ भने उपन्यास बाट हुवहु कथा लिएको छ । उपन्यासमा रुपमान भरियाको पनि श्रीमती बिछोडको कुरा छ र उपन्यासमा रुपमानको छोरा समीर पनि डाक्टरी पढ्न गएको हुन्छ । उपन्यासमा रुपमान पात्रले छोरा समीरलाइ भरिया बोकेर पढाएको हुन्छ । ठ्याक्कै त्यस्तै कुरा पूर्ण बहादुरले सारंगी रेटेर कमल पढाएको देखाइएको छ ! उपन्यासमा आमाको बारेमा कमले बाउ पूर्ण बहादुरलाई पटक पटक सोधे जस्तै उपन्यासमा समीरले रुपमान भरियालाई सोधेको छ । यता कमल उत्कृस्ट विधार्थी भए जस्तै उपन्यासमा समीर उत्कृस्ट बिधार्थी हुन्छ ।
यता कमलले डाक्टरी पढ्न नाम निकाले जस्तै उपन्यासमा समीरले पनि नाम निकालेको हुन्छ ! पूर्ण बहादुरलाई पैसा जुटाउन कठिन हुन्छ भनेर डाक्टरीमा नाम निस्किदा पनि कमलले डाक्टरी पढ्न नमाने जस्तै उपन्यासमा पनि बाउ रुपमानलाइ पैसा जुटाउन कठिन हुन्छ भनेर समीरले डाक्टरी पढ्न मान्दैन ।
पूर्ण बहादुरकै ढिपीमा कमल डाक्टरी पढ्न सहर गए जस्तै उपन्यासमा रुपमानको ढिपीमा समीर पनि डाक्टरी पढ्न सहर जान्छ । पूर्ण बहादुरको सारंगीमा बाबु छोराको प्रेम भए जस्तै उपन्यासमा पनि बाबु छोराको प्रेमको कथा छ । यो संग संगै चलचित्रको धेरै जसो सम्वादाहरू उपन्यासमा लेखिएको संवाद हुबहु छ ! मैले यो सबै कुरा उपन्यास पढेर याहा उल्लेख गरेको छु । समग्रमा चलचित्रको मुल कथा संग्रामपुर उपन्यास नै हो ।
तथापि चलचित्रको राम्रो पक्ष : पुरै चलचित्र उपन्यास बाट चोरेर बानाइए पनि उपन्यासको सर्जकलाई अपमान गरेपनि पूर्ण बहादुरको सारंगी चलचित्रमा उपन्यासको जस्तै बा र छोराको अथवा बाउले आफ्नो सन्तान प्रति निर्वहन गर्ने कर्तव्य र दाइत्वलाइ उपन्यास बाट चोरेर भएपनि लिखितम उपन्यासलाई बडो गजबले पर्दामा प्रस्तुत गरेको छ । जुन हरेक घर-घरको कथा हो । याहा उल्लेखित कमजोरीहरुलाई बेवास्ता गरेर केवल गरिब बाउको दुखलाई मात्रै हेरेर मूल्यांकन गर्ने हो भने , एउटा गरिब बाउले कुन हद सम्मको दुख गर्छ भनेर जसरी देखाउन खोजिएको छ त्यो दुखको हद र दुखको हदलाई न्याय गर्ने क्यारेक्टरगत कलाकारको अभिनय नै चलचित्रको सकारात्मक पक्ष हो ।
अन्तमा: पूर्ण बहादुरको सारंगी चलचित्रमा यस्ता अनेकौ कमजोरीहरु भएपनि नेपाली चलचित्रले भारतीय चलचित्रको वर्चश्व तोडेर बजारलाई आफ्नो कब्जामा पार्न सफल भएको प्रति खुशी व्यक्त गर्दै हार्दिक बधाई एवं नेपाली चलचित्र जगतलाई आगामी यात्राको शुभकामना व्यक्त गर्दै संग्रामपुर उपन्यासका लेखक डा. शिव शंकर बस्याल ज्युलाई न्याय प्राप्त होस् ।