एजेन्सी- मध्यपूर्व द्वन्द्वलाई अमेरिकाले आर्थिक सौदाबाजीमा ढालेको छ । यसै क्रममा अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभले गाजापट्टीमा बम बर्साइरहेको इजरायललाई १४.३ बिलियन डलर (करिब १९ खर्ब रुपैयाँ) रकम सहायता गर्ने विधेयक पारित गरेको हो ।
अमेरिकी सञ्‍चार संस्था सीएनएनका अनुसार माथिल्लो सदन सिनेटले भने इजरायललाई आर्थिक सहयोग गर्ने ‘गम्भीर त्रुटिपूर्ण प्रस्ताव’लाई स्वीकृत नगर्ने सम्भावना छ । राष्ट्रपति जो बाइडेनकै पार्टी डेमोक्रेटिकका सांसद्‌हरूले यस विधेयकमा युक्रेनलाई सहायता समावेश नगर्ने र आन्तरिक राजस्व सेवामा कोष कटौती गर्ने कुरामा आपत्ति जनाइरहेका छन् ।
अक्टोबर ७ मा प्यालेस्टिनी भूभाग गाजापट्टीबाट हमासले अप्रत्याशित रकेट आक्रमण गरेको थियो । सो आक्रमणमा इजरायलतर्फ झण्डै १५०० मानिसको ज्यान गएको थियो । लगत्तै, इजरायलले पनि गाजापट्टीमा भयानक बमबारी र आक्रमण थालेको थियो ।

इजरायलले गरेको आक्रमणमा हालसम्म करिब १० हजार गाजाबासीको ज्यान गएको छ । इजरायली बमवर्षक र युद्धक विमानले अस्पतालहरूमा समेत बम बर्साउँदा ४ हजार बालबालिकाको ज्यान गएको छ । दर्जनौं पत्रकारहरूको समेत इजरायलले हत्या गरिसकेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै इजरायलले गाजामा आक्रमण गरिरहेको हो । चारैतिर घेराबन्दी गर्दै गाजामा नाकाबन्दी लगाएर अत्यावश्यक मानवीय सहायता सामग्री लैजान समेत रोक लगाइरहेको छ । युद्धविरामका लागि गरिएको आग्रहलाई समेत इजरायलले अस्वीकार गरेको छ ।

यतिखेर अमेरिकी संस्थापन इजरायलको पक्षमा खुलेर लागेको छ । तर घरेलु थिंकट्यांक, रणनीतिक साझेदार पश्चिमा मुलुकहरू र अमेरिकाका प्रतिद्वन्द्वीहरूले गाजामा इजरायलले गरिरहेको नरसंहारको विरोध गरिरहेका छन्‌ ।

यसैबीच शुक्रबार बेलुकीदेखि गाजासँगै लेबनानको सीमाबाट पनि इजरायलविरुद्ध युद्धको मोर्चा खुल्ने जोखिम बढेको छ । लेबनानी सशस्त्र समूह हिज्बुल्लाहका नेता शयद हसन नसरुल्लाहले आज एक ठूलो सभालाई सम्बोधन गर्दैछन्‌ । यसअघि नै इजरायलविरुद्ध छिटपुट लडाईं छेडिसकेको हिज्बुल्लाहले प्यालेस्टाइनी हमासलाई समर्थन गर्ने गरेको छ । तर, यी दुबै समूहसँग अमेरिका निर्मित हतियारको ठूलो सञ्चिति छ ।

इजरायलको सबैभन्दा ठूलो सामरिक बिक्रेता अमेरिका नै हो । उसले प्रयोग गर्ने क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (डोम) अमेरिकाले नै उपलब्ध गराएको हो । लडाकु जहाज र आधुनिक हतियार विकासमा पनि अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय