विराटनगर- कोशी प्रदेश नामांकन खारेजीको मागसहित जारी आन्दोलनका एक घाइतेको मृत्यु भएको छ । चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बू लागेहाङको मृत्यु भएको हो । उपचारका क्रममा उनको मृत्यु भएको छ ।
टाउकोमा चोट लागेका उनी मंगलवार राति बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । लिम्बुको गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका मोरङको बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको थियो ।
उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।
फागुन १७ गते प्रदेशको नामाकरण ‘कोशी’ गरीएको थियो । उग्ररुपमा नामकरण विवाद प्रदेशको नामकरणसँगै पछिल्लो समय पहिचानवादीहरुले चर्को आन्दोलन गर्दै आएका छन् । बृहत् आन्दोलन र प्रदर्शनदेखि मन्त्री सांसदहरुलाई पनि आक्रमणको प्रयास भइरहेका छन् । केही समयअघि मात्र प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको थियो । उनीहरुले दिनहूँजसो विभिन्न खाले प्रदर्शन र आन्दोलनहरु गरिरहेका छन् । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा राख्नुपर्ने उनीहरुको माग छ ।










