स्तम्भकार, राजु ढुंगाना-प्रनिल
म नयाँ पुस्ता। अलिअली समाज/राजनीति प्रतिको चेतले मेरो पुस्तालाइ बाध्यकारी प्रभावित/प्रेरित गरेरै होला सायद झल्यास्स सम्झिएँ, म त नेपाल देशको जिम्मेवार नागरिक पो हुँ। यसरी बिर्सेको जिम्मेवारी एकाएक कहिलेकाही याद भनौ वा वोध भैदिन्छ। त्यसपछि मनमनै टोल/गाउँ/समाज हुँदै राजनीति सम्म डुल्न थाल्या छु। डुल्दा डुल्दै मनमा अनेकौं कुराहरु खेल्ने गर्छन् । आपसमा खेलेका कुराहरुको खेल अनुसार अत्यन्त गम्भीर नतिजा सर्लक्कै स्पष्ट देखेपछि मन नलागी-नलागी तितो पोख्न एउटा चैँ लेख्नैपर्छ भनेर जिम्मेवारी वोध भयो ।
अभागी नयाँ पुस्ता:-
मेरो वा हाम्रो नयाँ पुस्ताको सहभागिता देशको राजनीतिमा करिब ३० बर्ष देखि मात्रै छ। ३० बर्ष सम्म नेपालको राजनीतिक संघर्षहरुमा नयाँ पुस्ताले योगदान दिएको छ। यश हिसाबले नेपालको राजनीतिक संघर्षहरु मध्य तत्कालिन माओवादी नेतृत्वमा भएको २०५२ साल यताको संघर्ष देखि ०६२/०६३ जनआन्दोलन हुँदै अन्य आन्दोलनहरुमा नयाँ पुस्ताको सहभागिता देखिन्छ।
राजनीतिमा “कोर” शब्द निकै प्रचलित पनि छ जस्तै “कोर इलाका” कोर क्षेत्र” कोर मतदाता” इत्यादि। त्यही “कोर” शब्दलाइ मान्यता दिएर भन्ने हो भने खासगरी २०५२ सालमा प्रारम्भ भएको जनयुद्ध देखि हाल सम्म देशको राजनीतिक संघर्षहरुमा भएको सहभागिता हेर्ने हो भने “स्वतन्त्र कोर पुस्ता” अर्थात राजनीतिक/ सामाजिक र आर्थिक रुपमा एकदमै स्वतन्त्र पुस्ता” को सहभागिता देखिदैन किनकी उक्त पुस्ता २०६३ सालमा जन्मेर १६ बर्ष पुगेको देखिन्छ।
त्यही १६ बर्ष पुगेका “कोर पुस्ता” जो कसैको पनि “कोर मतदाता होइनन् । अर्थात “स्वतन्त्र पुस्ता ” नेपालको राजनीतिमा भएको भर्खरै सम्पन्न मंसिरको आम निर्वाचनमा त्यहि पुस्ताले रैथाने राजनीतिमा हस्तक्षेप गरेर देखायो।
२०५० सालमा जन्मेर जनयुद्ध देखि यताको राजनीतिक संघर्षहरुमा योगदान दिएको पुस्ता र “अर्ग्यानिक पुस्ता” यसलाइ कोर पुस्ता नै भनौं, मिलेर राजनीतिमा हस्तक्षेप गरेको देखियो। नेतृत्व र नितिमा विकल्प दिन खोज्यो उक्त पुस्ताले। रैथाने दलहरुको रैथाने राजनीतिमा बदलाव खोज्यो।
करिब ३० बर्ष देखि राजनीतिमा योगदान गर्दै आएको पुस्ताले रैथाने नेतृत्व र राजनीतिबाट धोका भएको महसुस गर्नु र करिब १६ बर्ष देखि निष्क्रिय बसेको पुस्ता सक्रिय देखिनुले राजनीतिमा नेतृत्व र नितिगत पुस्तान्तरण खोजेको स्पष्ट झिल्को झुलुक्क देखिदै गर्दा नयाँ पुस्तामा राजनीति प्रतिको आवश्यक आकर्षण बहुतै सकारात्मक र खुसीको विषय बन्न गयो।
सधैंको राजनीतिक खिचातानी, राजनीति भित्रको व्यथिती विसंगति, सत्ताको लुछाचुड, आरोप प्रत्यारोप, राजनीतिक भ्रस्टाचार, नितिगत भ्रष्टाचार, राजनीतिक जलपमा पर्ने हिंसात्मक गतिविधि आदि जस्ता कुराहरुबाट मुक्तिको अपेक्षा भित्र नयाँ पुस्ता जागरुक वा नयाँ पुस्तामा जागरण देखिदै गर्दा नयाँ पुस्ता विरुद्ध षड्यन्त्रका रुपहरु एकाएक देखिन थालेका छन् । षड्यन्त्रका ती रुपहरु यतिखेर नागरिकता र डोजर को पहिरनमा देखिएका छन् ।
डोजरले गरेको राम्रो कार्यहरु नपचेर वाक्ने रैथाने राजनीति र स्थानीय माफियाहरुले “डोजर आतंक” नामको पहिरन पहिरिएर क्याटवाल्क गरिरहेकाछन। धरानमा साबुन फ्याक्ट्री खोल्ने मेयरको योजना बिफल पार्न “बन बिभाग” ले धरानलाइ स्वदेश भूमि नै मानेन । नयाँ पुस्ताको जागरणलाई जसरी हुन्छ त्यसरी विफल गर्ने परिपाटी देखिनु अत्यन्त दु:खद छ।
राजनीतिमा राजनीति गर्न प्रमुख दलहरुको विकल्प नरहेको र लामो तथाकथित इतिहास बनाएर वा उक्त दलहरुबाट लामो अनुभव लिएर आएकाहरुले मात्रै राजनीतिमा प्रवेश पाउने स्थिति स्थापित गर्नपनी त्यस प्रकारका रुपहरु षड्यन्त्र बनेर तपाइँ हाम्रा सामु उपस्थित भैरहेका छन् , किनकी याहा इतिहासको ब्याज खान पल्केका र खानकै लागि तम्सनेहरुको संख्या धेरै छ। त्यसैले पनि राजनीतिमा नयाँ पुस्तालाइ स्वीकार गर्न रैथाने राजनीतिले सकिरहेको छैन।
नयाँ पुस्ताको नेतृत्व लिएर उदाएका “बालेन र हर्क साम्पाङ्ग” ले छोटो समयमै हासिल गरेको सफलता प्रती रैथाने राजनीतिक बृत्तलाइ मन परेको छैन। नयाँ पुस्ताको “नो नट अगेन” अभियानले ल्याएको जागरण भित्रबाट जन्मिएको “राष्ट्रिय स्वतन्त्र पार्टी” नयाँ पुस्ता कै विकल्पको रुपमा देखिन पुगेपछि रैथाने राजनीतिक घरानाहरुको लागि खतराको घण्टी बजेको महसुस देशैभरी अनुभिती भयो। झन रोचक त के छ भने राजनीतिमा सुक्को योगदान नरहेको “रबि लामिछाने”ले अत्यन्त छोटो समयमा नै पार्टी नेतृत्व र देशकै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर पाएको सफलतालाई यो नयाँ पुस्ताको सफलता भनेर स्थापित हुदैगर्दा रैथाने दलहरुमा आबद्ध बर्षौं पाइतला खियाएका समकालीन उमेर समुहका तथाकथित युवा भनिने नेताहरुलाइ मन पर्ने कुरै थिएन, त्यसैले पनि नयाँ पुस्तालाई असफल पार्ने रैथाने लस्करहरुको राग, अलापहरु विभिन्न रुपमा उजागर भैरहेको छ ।
काठमाडौमा “बालेन मार्फत आएको नयाँ पुस्ता”लाई असफल तुल्याउन “डोजर आतंक” रुपि अभियान छेडियो भने धरानमा “हर्क मार्फत आएको नयाँ पुस्ता” विरुद्ध दलिय प्रतिनिधिहरु देखिएका छन् , यस्तै “रबि लामिछाने मार्फत आएको नयाँ पुस्ता”लाई पुरै सिथिल पार्न, पराजित गर्न “नागरिकता हतियार” चलाइयो। जबकी प्राविधिक विषय थियो किनकी जन्मजात नेपालीले पुनः नागरिकको हक प्राप्तिको लागि नागरिकता ऐन लचिलो हुनुपर्छ भन्ने मत हो मेरो।
भन्नेहरुले त “दूतावासहरु”ले पुराना दलहरुलाइ नयाँ पुस्ता मार्फत धम्क्याएको वा चेतावनी दिएको सम्म भनेका छन् । पुराना दलहरुलाइ कन्ट्रोलमा राख्न र रैथाने राजनीतिलाई नै निरंतरता दिन दूतावासहरुले नै “नयाँ पुस्ता, पुस्तान्तरण” छेडेर एउटा माहोल खडा गर्दै -“हामिले यस्तो पनि गर्न सक्छौं” भनेर देखाएको जस्ता कुराहरु बजारमा हल्ला छ। यो बजार हल्लामा विभिन्न आरोपहरुले नयाँ पुस्तालाइ घेराबन्दीमा पारिरहेको छ र धेरै भ्रमहरु जन्माउन सफल भैरहेको छ जसले गर्दा अल्पविकसित चेतनात्मक हाम्रो समाजमा दिनानुदिन असर पुगिरहेको छ, यो नयाँ पुस्ताको लागि चिन्ता र चुनौतीको विषय हो।
खैर, जे जसो भएपनी नेपाली राजनीतिमा राजनीतिले नयाँ पुस्ता/पुस्तान्तरण त खोजेकै छ यो सत्यलाई नकार्न चैं कसैले पनि सकिरहेका छैनन् ।
सम्पादकहरुको सम्पादकीय राजनीति:-
नेपालको मुलधार भनिने बडे-बडे पत्रीका र मिडियाका बडे-बडे सम्पादकहरुको सम्पादकीय राजनीति कहिल्यै पनि स्थायी सकारात्मक देखिएन,! हुनत संचारजगत/ मिडियालाई जहिल्यै प्रतिपक्षी मानिन्छ र प्रतिपक्षी नै हो। तर प्रतिपक्षीको रचनात्मक भुमिकाले नै रचनात्मक परिणाममा सहयोग पुर्याउछ भन्ने शिक्षा गम्भीर रुपमा वोध नभएको वा व्यवसायिक निहित स्वार्थमा काम गरेको देखिनु अर्को दु:खद पक्ष हो।
मिडियाहरुको “हेडलाइन प्रतिस्पर्धा” देख्दा देशका बडे-बडे नेताहरुको गोप्य बैठकहरुमा स्वयं उपस्थित भएको जस्तोगरी हेडलाइनहरु प्रकाशित भएको पाइन्छ! मानौ कुनै नेताको लंगौटी यार”हो वा दूतावासहरुको खास दुत भए झैँ सम्पादकीय व्यवहारहरु चारैतिर छरपस्ट देखिरहेका छौँ । अघि माथी उल्लेख गरिएको “दूतावास प्रतिस्पर्धामा” सहयोगी भुमिकाको “दूतावास सम्पादकीय ” होकि भन्ने असंका पनि उत्तिकै छ। देशमा बद्लिएको समीकरण खासगरी दुई ठुला कम्युनिस्ट पार्टीको गठबन्धनमा नयाँ पुस्ताको आकर्षण बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी समेत सामेल हुनुले राजनीतिमा अब चै केही नयाँ पन आउँछ र जनताको भविस्य सुरक्षित हुन्छ भन्ने खालको आशा भैरहेकाबेला सत्ताघटक भित्रको पछिल्लो पुस्ता बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी” माथिको आक्रमण सामान्य प्रक्रिया अन्तर्गत मात्रै हो भनेर बुझ्यौं भने गलत हुन्छ।
यो आक्रमण नयाँ पुस्तालाइ निस्तेज पार्न उद्दत देखिन्छ भने अर्कोतर्फ भारतीय बुझाइमा “चीन समीकरणमाथी धावा बोलेको देखिन्छ। नत्र “निस्सा” जस्तो प्राविधिक कारण देखाएर अदालत मार्फत यश प्रकारको खेदो नहुनुपर्ने हो। नागरिकता र डोजर बहानाको हतियार देखाएर नयाँ पुस्ता र केही हदको सकारात्मक समीकरणलाई तर्साएर बिफल पार्ने उदेश्य भित्र सुनियोजित रहस्यहरु खुल्दै जाला नै।
खासगरी देशको राजनीतिमा गर्न खोजिएको नयाँ प्रयोग वा सकारात्मक पहलहरुका विरुद्ध “दुतावासिन्दा सम्पादकीय हस्तक्षेप” बढ्ने गरेको छ। सम्पादकहरुले राजनीतिमा जहिल्यै अस्थिरता चाहेको जस्तो बुझिन्छ। राजनीतिमा नयाँ फण्डाहरु भएन भने “हेडलाइन प्रतिस्पर्धा” नहुने र आजको डिजिटल युगमा त्यसले व्यवसायिक असर गर्ने भएपछि बजारमा के-कस्तो हेडलाइन राखेर समाचार बिक्छ त्यसै अनुसार बेच्ने र समाचारको कालोबजारी कायम राखेर देशमा कुनैपनी कृयाकलापहरु सहजै सम्पन्न हुन नदिने त्यसैमा समाचार र सम्पादकीय आक्रमण जारी राख्दै अर्को नयाँ फण्डा जन्माउने र राजनीतिक मुनाफा कमाउने प्रवृत्ति पछिल्लो समय बढेर गएको छ।
देशमा भैरहेका सकारात्मक कार्यहरुका विरुद्ध विभिन्न स्वार्थ निहितका स्वरहरु/बिरोधहरुमा बिरोधको पक्षमा हेडलाईन आक्रमण गरेर सकारात्मक कार्य र आशायुक्त माहोल धमिल्याउने “दुतावासिन्दा मिडिया राजनीति” खेदजनक छ। काठमाडौंमा मेयर “बालेन पालिका “ले गरेका अत्यन्त सराहनीय कार्यहरुको पक्ष मा हेडलाइन प्रतिस्पर्धा र सम्पादकीय देखिएन, धरानका मेयर “हर्क पालिका”ले गरिरहेको उदाहरणीय कार्यहरु प्रती पनि सम्पादकहरु मौन बसे बरु उल्टै विरुद्धमा “बालेन आतंक र हर्क नौटंकी” हेडलाइन बेचेर “नयाँ पुस्ता अभियान जागरण” उपर हमला गरे । काठमाडौं र धरानमा भैरहेको सकारात्मक कार्यहरुको पक्षमा माहोल बनाउने वा सम्पादकीय वाकालात समेत गरेनन् । त्यसो नगर्नु भनेको मिडिया र सम्पादकहरुलाइ फाइदा छैन भनेर बुझ्नुपर्छ ।
मिडिया र सम्पादकहरुको व्यवसायिक राजनीतिको पोलिसी हामी सबैले बुझ्नुपर्छ। उसको पोलिसी भनेकै प्रारम्भमा साथ दिएर उचाल्ने र त्यसैलाइ बजारमा बेच्ने। जब बजारमा सुन्यता देखिन्छ त्यस अवस्थामा खसाल्ने र बजारले खोजेको हेडलाइन बेच्ने । जुनबेला बजारले जे खोज्दछ त्यसबेला त्यसै अनुसारको समाचार हेडलाइन र सम्पादकीय बेच्ने।
नयाँ पुस्ता जागरणबाट जन्मिएको “राष्ट्रिय स्वतन्त्र पार्टी” लाई सुरुमा प्रोजेक्ट गर्दै मुलधारका मिडियाले दिनानुदिन कभरेज गरेर नयाँ पुस्ता जागरण एउटा क्रान्ति भएको सम्पादकीय प्रस्तुतिहरु घनिभुत गरे किनकी त्यसबेला बजारमा त्यही बिक्ने थियो र उनिहरुले त्यही बेचे। त्यसबेला नागरिकता सम्बन्धि कुनै चिन्ता चासो व्यक्त गरेनन् मुलधारका मिडियालाइ त्यसबेला नागरिकता विषय पुर्ण रुपमा नपाकेको हुनाले महत्त्वपूर्ण लागेन र नागरिकताको हेडलाइन त्यसबेला बिक्ने समय पनि थिएन । यतिबेला मुलधारका मिडिया र सम्पादकहरुलाइ रास्ट्र/राष्ट्रियता कुराहरु माइनर अत्यन्त सामान्य लाग्यो।
जब अदालतले फैसला दियो त्यसपछि बजारमा बिक्ने माल तयार भएपछि मुलधारका मिडिया र सम्पादकहरुलाइ रास्ट्र/राष्ट्रियता जस्तो महत्त्वपूर्ण अरु केही नभएको अचानक देशभक्ती जाग्यो र सुरु भयो पुनः “हेडलाइन प्रतिस्पर्धा” ।
हेडलाइन प्रतिस्पर्धा यसरी आइरहेका छन् कि मानौ रबि लामिछानेले जघन्य पाप गरे जघन्य अपराधै गरे। उ यो देशको नागरिक कहिल्यै थिएन, उ जन्मजात नेपाली नै होइन जसरी हेडलाईनहरु छापिए। मुलधारका मिडिया र सम्पादकहरुले नागरिकता ऐनमा गर्नुपर्ने सुधार/परिवर्तन बारे कहिल्यै लेखेनन र बोलेनन् पनि। जन्मजात नेपाली नागरिक कुनै कालखण्डमा बिदेशी नागरिक बन्न पुग्यो तर पुनः स्वदेश फर्केर पुनः नेपाली नागरिक हुन पाउने त्यस प्रकारका पात्रहरुको निमित्त प्रावधान सम्बन्धि सम्पादकीय कहिल्यै छापिएन।
बालेन, हर्क र रबि लामिछाने मार्फत नयाँ पुस्ता जागरण माथी भैरहेको मिडिया र सम्पादकहरुको सम्पादकीय हमला अत्यन्त भत्सर्नायोग्य विषय हो, अस्थिरताको कारकहरु मध्य मिडिया र सम्पादकहरु पनि एउटा कारक हो भन्ने सत्य बुझेर नयाँ पुस्ताले सजगता अप्नाउदै नेतृत्व र नितिमा पुस्तानतरणको बहसलाइ अझ मजबुत बनाउदै लानुपर्छ।