परासी । इन्टरनेट सेवाप्रदायक कम्पनी लुप नेटवर्क लिमिटेडका सञ्चालक सतिस पोखरेलविरूद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १ का प्रियब्रत श्रेष्ठले पोखरेल विरूद्ध चेक बाउन्सको मुद्दा दिएका हुन्।

श्रेष्ठले सञ्चालन गर्दै आएको एक्मी टेक्निकल ईन्ष्टिच्यूट प्रा.लि खरिद गरेवापतको रकम भुक्तानी गर्न आनाकानी गर्दै आएका पोखरेलले साउन १५ गते दिएको ७० लाख रूपैयाँको चेक पटक-पटक बैंकमा जाँदा पनि खातामा रकम नभएको भन्दै फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा चेक बाउन्सको मुद्दा दर्ता गरेको बताएका छन् । श्रेष्ठले २०६२ सालमा स्थापना गरेको एक्मी टेक्निकल ईन्ष्टिच्यूट गत वैशाख ३ गतेदेखि लुप नेटवर्क लिमिटेडलाई २ करोड ७५ लाख रुपैयाँमा बिक्रि गरेका थिए।

ईन्ष्टिच्यूट विक्री गर्दा श्रेष्ठले लुप नेटवर्कमा २५ लाख रूपैयाँ बराबरको सेयर लिनुपर्ने र २ करोड ५० लाख रूपैयाँ विभिन्न मितिमा ६ किस्ता गरि बुझाउने गरि सम्झौता गरिए पनि हालसम्म १० लाख रूपैयाँ मात्र पाएको गुनासो गरेका छन् । लुप नेटवर्कका सञ्चालक पोखरेलसँग श्रेष्ठले गरेको सम्झौतामा पहिलो किस्ता वापत साउन १५ गते ७५ लाख, भदौ १५ गते २५ लाख, असोज १५ गते २५ लाख गर्दै पुस १५ गते भित्र सम्पूर्ण २ करोड ५० लाख रूपैयाँ भुक्तानी पाउने उल्लेख गरिएको छ । तर, साउनमा दिएको ७० लाख रूपैयाँको चेक भदौ १५ गतेसम्म पनि बैंकमा नसाटिएपछि चेक बाउन्सको मुद्दा दर्ता गरेको श्रेष्ठले बताए। ‘बैंकमा रहेको ऋण तिर्न बिक्री गरेको कम्पनीको रकम बारम्बार माग गर्दा पनि पोखरेलले दिन आलटाल गर्दै आउनुभयो,’ श्रेष्ठले भने।

श्रेष्ठले पोखरेल विरूद्ध चेक बाउन्सको मुद्दा दिईरहँदा पोखरेलले भने श्रेष्ठ विरूद्ध लेनदेनको लागि गरिएको सम्झौताको पालना नगरेको भन्दै प्रहरीमा उल्टै उजुरी दिएका छन्। लुप नेटवर्क र एक्मी ईन्ष्टिच्यूट यी दुई कम्पनी एउटै जिल्लामा सञ्चालनमा रहेका  ईन्टरनेट बिक्रि गर्ने प्रतिस्पर्धी कम्पनी हुन्।

कम्पनी बिक्री गरेवापतको दोस्रो किस्ता (१ करोड १० लाख) रूपैयाँ दिने भाका कटिसक्दा पनि पहिलो किस्ताको चेक नसाटिएपछि श्रेष्ठले पोखरेललाई बारम्बार फोन गरेका थिए। ‘पटक पटक फोन गर्दा पनि फोन नउठेपछि मलाई जसरी पनि पैसा चाहिन्छ भनेर भदौ ५ गते लुप नेटवर्क लिमिटेडका दुई शाखा सुनवलबाट २४ हजार र खैरनीबाट १८ हजार डेली ट्रान्जेक्सको रकम लिएको थिएँ,’ त्यसैका विरूद्ध पोखरेलले ममाथि आचारसंहिता उल्लंघनको उजुरी दिनुभएको छ,’ श्रेष्ठले भने । आफ्नै कम्पनी बिक्री गरेको रकम माग गर्दा करार सम्झौता विपरितको कार्य गरी हुन गएको आर्थिक हानी नोक्सानीको क्षतिपुर्ति दिलाई पाउँ भन्दै लुप नेटवर्क लिमिटेडका रिजनल म्यानेजर राजन कोइरालाले उजुरी दिएको बताए।

श्रेष्ठले चेक बाउन्सको मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय परासीले समेत आलटाल गरि दुःख दिएको गुनासो गरे। ‘म मुद्दा दर्ताको लागि ११ बजे जिल्ला प्रहरी कार्यालयमा गएको थिएँ, तर प्रहरीले ठाडो निवेदन दिन भन्दै मुद्दा दर्ताको लागि आनाकानी गरिरह्यो, अन्तिममा सरकारी वकिल कार्यालयले भनेपछि बल्ल साँझ ६ बजे मात्र उक्त मुद्दा दर्ता गर्न सफल भएँ’, उनले भने । भदौ १९ गते चेक बाउन्सको मुद्दा दर्ता गरे पनि उक्त मुद्दा कहाँ पुग्यो भन्नेबारे प्रहरीले आफूलाई कुनै जानकारी नगराएको उनले गुनासो गरे। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेयले चेक बाउन्सको जाहेरी पछि अनुसन्धान भइरहेको बताए।

श्रेष्ठले बैंकमा तिर्नुपर्ने ऋण चुक्ता गर्न १७ वर्षदेखि सञ्चालन गर्दै आएको कम्पनी बिक्री गरेको र त्यसवापत पाउनुपर्ने रकम माग गर्दा लुप नेटवर्कले विभिन्न दुःख दिईरहेको गुनासो गरे । यता लुप नेटवर्क लिमिटेडका रिजनल म्यानेजर राजन कोइरालाले चेक दिएको मिति भन्दा ३ महिनापछिसम्म रकम दिने सहमती भएपनि बिक्रि पश्चात कम्पनीमाथि हस्तक्षेप गर्दा कानुनी बाटो रोज्नुपरेको बताए।

कम्पनी खरिद गर्दा दुई/तीन महिना घटाएर वा बढाएर पनि रकम भुक्तानी गर्ने सहमति थियो, तर उहाँले पैसाका लागि तारन्तार गर्ने काम गर्नुभयो, कतिबेला आफैंले कम्पनी चलाउने भन्नुभयो’, उनले भने, ‘दुई दिन हामीलाई समेत कम्पनीमा छिर्न दिनुभएन त्यसपछि हामीले पनि कानुन अनुसार आचारसंहिता उलंघनको उजुरी दिएका हौं।’ श्रेष्ठले कम्पनी बिक्री गरेपछि कर्मचारी र ग्राहकलाई समेत भड्काउने गरेकाले कम्पनीले एक्मी टेक्निकल ईनिष्टिच्यूट प्रा.लि चलाउन नसक्ने अवस्थामा आएको कोइरालाले जिकिर गरे। यद्यपी एक्मी टेक्निकल ईन्ष्टिच्यूट खरिद गरेपछि लुप नेटवर्कले आफूमा गाभेर सबै कारोबार लुप नेटवर्ककै नामबाट गर्दै आएको छ।

चेक बाउन्स मुद्दामा प्रहरीको भूमिका शंकास्पद

प्रियब्रत श्रेष्ठले चेक बाउन्स मुद्दालाई कमजोर बनाउन लुप नेटवर्क लिमिटेडले प्रहरीलाई प्रलोभनमा पारेको आरोप लगाएका छन्। भदौ १९ गते लुप नेटवर्क विरूद्ध चेक बाउन्सको जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले भदौ २२ गते सोही कम्पनीबाट रकम लिएको सिसिटिभी फुटेज भेटिएको श्रेष्ठले दाबी गरे।

उक्त सिसिटिभी फुटेजमा गत भदौ २२ गते सुनवलको लुप नेटवर्क कार्यालय पुगेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका लेखापाल प्रहरी नायब निरीक्षक महेन्द्रराज काफ्लेले नेटवर्कका रिजनल म्यानेजर राजन कोइरालासँग रकम बुझेको देखिन्छ। उक्त सिसिटिभी फुटेज अनुसार बिहान ११ बजेर ५३ मिनेटमा कार्यालय प्रवेश गरेका काफ्लेलाई कोईरालाले १२ बजेर १० मिनेटमा रकम बुझाएको देखिन्छ। १४ बजेर १४ मिनेटमा काफ्ले त्यहाँबाट बाहिरिएको सिसीटिभी फुटेजमा देखिएको छ।

श्रेष्ठ आफूले चेक बाउन्सको मुद्दा दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न आनाकानी गर्नु र त्यसको तीन दिनपछि सोही कम्पनीमा आएर रकम बुझ्नुले प्रहरीको भूमिका शंकास्पद रहेको उनले दाबी गरे। उनले लुप नेटवर्कसँग प्रहरीले आर्थिक लेनदेन गरि आफ्नो मुद्दालाई कमजोर बनाउन खोजेको आरोप समेत लगाए।

यस विषयमा लुप नेटवर्कका सिईओ राजन कोइरालाले जिल्ला प्रहरी कार्यालयले लुप नेटवर्कबाटै ईन्टरनेट लगेको र त्यसैवापत अग्रिम भुक्तानी भएको रकम फिर्ता गरेको दाबी गरे। कोईरालाले अग्रिम भुक्तानी भएको रकम कम्पनीले फिर्ता गरेको दाबी गरे पनि काफ्लेसँग कुनै पनि लिखित भर्पाई नगरी रकम दिएका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी भोजराज पाण्डेयले पनि ईन्टरनेट वापतकै आर्थिक लेनदेन विषय मिलान लेखापाल लुप नेटवर्कमा गएको जिकिर गरे। ‘यस विषयमा प्रहरी हेडक्वार्टरमा समेत जाहेरी परेकोले अनुसन्धान भइरहेको छ, अनुसन्धान भईरहेको विषयमा यहाँभन्दा धेरै कुरा भन्न मिल्दैन,’ पाण्डेयले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय