
काठमाडौं- एमालेका १९ मध्ये १३ जना पदाधिकारी आगामी ४ मंसिरको निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । अध्यक्ष केपी ओली झापा– ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठको नाम सिफारिस हुन बाँकी छ । पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बन्दै छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२बाट, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्ष युवराज ज्ञवाली दाङ–३ बाट चितवन– १ बाट सिफारिस भएका छन् ।
महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट, उपमहासचिव प्रदीप ज्ञवालीको नाम गुल्मी–१ बाट, अर्का उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेश सभा सदस्यमै उम्मेदवार बन्ने भएका छन् । अर्का उपमहासचिव विष्णु रिमाल नुवाकोट– १ बाट सिफारिस भएका छन् ।
सचिवहरू टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गोकर्ण विष्ट गुल्मी– २ बाट, छविलाल विश्वकर्मा रुपन्देही– १ बाट, लेखराज भट्ट कैलाली–४ बाट सिफारिस भएका छन् । सचिव योगेश भट्टराई ताप्लेजुङ र अर्का सचिव रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्दैछन् ।
अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि समानुपातिकबाट उम्मेदवार बन्ने योजनामा छन् । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम– २ बाट उम्मेदवार बन्दै छन् । पूर्वउपाध्यक्ष भीमबहादुर रावल अछाम– १ बाट सर्वसम्मत सिफारिस भएका छन् । पूर्वउपमहासचिव घनश्याम भुसाल रूपन्देही–३ बाट उम्मेदवार सिफारिस भएका छन् । भुसालसहित वासुदेव घिमिरे, दुर्गा भुसाल र सर्वजित शाहको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
महामन्त्रीहरू गगन थापा काठमाडौं– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय(डिना) मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट। भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।
नेता रामचन्द्र पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३ बाट, सुजाता कोइराला मोरङ २ बाट, प्रवक्ता डा प्रकाशशरण महत नुवाकोट १ बाट, पूर्वअर्थमन्त्री डा रामशरण महतको नाम पनि सिफारिस भएको छ । त्यस्तै, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ बाट सिफारिस भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चितवन– ३ र गोर्खा– १ बाट उम्मेदवार सिफारिस भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोर्खा– २ बाट, उपाध्यक्ष कृष्णबहादुर महरा दाङ– २ बाट, महासचिव देव गुरुङ लमजुङबाट, उपमहासचिव वर्षमान पुन रोल्पाबाट, पम्फा भुसाल ललितपुर–३ बाट, जनार्दन शर्मा रुकुम पश्चिम, गिरिराजमणि पोखरेल महोत्तरी–१, शक्ति बस्नेत जाजरकोट, हरिबोल गजुरेल सिन्धुली– ३, मात्रिका यादव धनुषा– १ बाट उम्मेदवार बन्ने तयारीमा रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सचिवहरूमध्ये चक्रपाणि खनाल कपिलवस्तु– १, देवेन्द्र पौडेल बाग्लुङ– २, हितमान शाक्य काठमाडौं– ९, डिलाराम आचार्य रूपन्देही– ५ र राम कार्की ओखलढुंगाबाट उम्मेदवार बन्ने तयारीमा छन् । सचिव हितराज पाण्डे भने गोर्खा– १ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तीन ठाउँबाट उम्मेदवार सिफारिस भएका छन् । नेपाल काठमाडौं– २, रौतहट– १ र ४ बाट उम्मेदवार सिफारिस भएका छन् । तीन ठाउँबाट सिफारिस भए पनि नेपाल अन्ततः रौतहट– १ बाटै लड्ने तयारीमा छन् ।
सम्मानित नेता झलनाथ खनाल इलाम– १, उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे धादिङ– २, प्रमेश हमाल ललितपुर– ३, नागेन्द्र चौधरी पर्सा– २ र धर्मनाथप्रसाद साह सिराहा– ४ बाट सिफारिस भएका छन् । त्यस्तै, महासचिव डा। बेदुराम भुसाल रूपन्देही– १, उपमहासचिव विजय पौडेल रूपन्देही– १ र काठमाडौं– ९ बाट सिफारिस भएका छन् ।
उपमहासचिवहरू जगन्नाथ खतिवडा उदयपुर– १, गंगालाल तुलाधार धादिङ– २ र प्रकाश ज्वाला सल्यानबाट सिफारिस भएका छन् । सचिवहरू राजेन्द्र राई भोजपुर, रामकुमारी झाँक्री गुल्मी– २ र जीवनराम श्रेष्ठ काठमाडौं– ८ बाट सिफारि भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव सिराहा १ र २, बारा २ र मोरङ ५ बाट सिफारिस भएका हुन् । जसपा संघीय परिषद् अध्यक्ष अशोक राईको नाम खोटाङ र सुनसरीबाट सिफारिस भएको छ । जसपा नेता राजेन्द्रप्रसाद श्रेष्ठ काठमाडौं ७ बाट सिफारिस भएका छन् ।
अन्य दलहरूमा धमाधम उम्मेद्वार सिफारिस भइरहे पनि लोसपामा भने क्षेत्रीय कमिटीमै निर्णय हुन बाँकी छ ।