काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंग्याउने तयारी गरेको छ । अपरान्ह ४ बजे बोलाइएको स्थायी समिति बैठकबाट पदाधिकारीबारे निर्णय लिने तयारी माओवादी केन्द्रको छ । बुधबारको स्थायी समिति बैठक पछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आज बस्ने बैठकले पदाधिकारीबारे निर्णय लिने बताएका थिए ।
गत पुसमा महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले महासचिवलगायतका पदमा किचलो हुँदा पदाधिकारी टुंग्याउन सकेको थिएन । पटक–पटक पदाधिकारीबारे निर्णय लिन बैठक बसेको भएपनि बैठकहरु अनिर्णित बन्दै आएका थिए ।
माओवादीभित्र महासचिव पदलाई प्रचण्डको उत्तराधिकारीको रुपमा लिइएको छ । जसको कारण पनि नेताहरुबीच महासचिवमा पदमा विशेषगरी हानथाप देखिन्छ ।
सुरुवातदेखि नै दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीच महासचिव पदमा हानथाप देखिएको छ । तर, दुईबीचको हानथापले पेचिलो रुप लिइरहेका बेला माओवादीभित्र विकल्पको विषयमा छलफल सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डले दुवैले अडान नछाडेपछि तेस्रो विकल्पका विषयमा पनि छलफल चलाइरहेका छन् ।
माओवादीभित्र शर्मा र पुनसँगै कृष्णबहादुर महरा, पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेतलगायतको पनि महासचिव पदमा चर्चा छ । शर्मा र पुनको विकल्पमा यसअघि महासचिवको जिम्मेवारी सम्हालीसकेका महरा पनि उपयुक्त पात्र हुनसक्ने सुझाब पनि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई दिएका छन् । तर, स्वयम्ले धेरै आकांक्षा नराखेको बुझिएको छ ।
अहिले विशेषगरी देव गुरुङ र पम्फा भुसालको चर्चा विकल्पको रुपमा माओवादीभित्र चलेको छ । गुरुङ र भुसालमध्ये प्रचण्डका निम्ति को सजिलो हुनसक्छ भन्ने कोणबाट छलफल चलेको देखिन्छ । प्रचण्डको निकटको हिसाबले पनि गुरुङ अगाडि देखिन्छन् ।
अर्कोतर्फ, महासचिव पदमा आकांक्षी देखिएका मध्ये गुरुङ माओवादीभित्र सिनियर नेता पनि हुन् । महरा र भुसालका समकक्षी गुरुङ शर्मा र पुनभन्दा निकै सिनियर हुन् । प्रचण्डले पार्टीभित्रको सन्तुलन नबिगार्ने रणनीतिमा गुरुङलाई अगाडि सार्ने सम्भावना धेरै छ । माओवादीका एक नेताले बताएअनुसार गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपसचिवमा प्रस्ताव गर्ने सम्भावना बढी छ ।









