नेपालको राजनीतिमा राजनीतिक “सालिक”हरु निर्माणमा एकखालको प्रतिस्पर्धा जस्तो हुँदै आएको छ। यहि प्रतिस्पर्धा अन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले आफ्नो छोरा स्वर्गीय “प्रकाश दाहाल”को “सालिक” अनावरण गर्नुभएको छ।

स्वर्गीय प्रकाश दाहाल को “सालिक” पर्वतारोहण अन्तर्गत “पर्वतारोहण संबंधित संस्था” ले निर्माण गरेर पर्वतारोहण को रुपमा सम्मान गरिएको भन्ने आशय को समाचारहरु  सम्प्रेषणहरुमा पाइएको छ।

मिति त मैले ठ्याक्कै बिर्सिए पनि करिब १०-१२ बर्ष अघि राज्यको ढुकुटीबाट दुई करोड रुपैयाँ लिएर स्वर्गीय प्रकाश दाहाल र निजको पत्नी “बिना मगर” सहित (त्यतिबेला पर्वतारोहण कै समयमा प्रकाश दाहाल को प्रेम प्रारम्भ भएको थियो) को टिम ले पर्वतारोहण गरेको समाचारहरु बजारमा  ब्याप्त थियो। पर्वतारोहण शब्दभित्र कुन पर्वत को पर्वतारोहण भएको थियो भन्ने कुरा चैं कुनैपनी संचार माध्यम ले आफ्नो माध्यम मा पुष्ठि भने गरेको थिएन र पर्वतारोहण संबंधित संस्था ले पनि पर्वतारोहण गरेको पर्वत खुलाएको जस्तो लाग्दैन। (पाठकहरु ले याहानेर म गलत छु भने सुरुमै माफ गर्नुहोला)

नेपालमा खासगरी बहुदलपछी राजनीतिक बृत्तका व्यक्तिहरुको सालिक निर्माणमा “राष्ट्रिय मापदण्ड”को खडेरी नै भएको जस्तो  अनुभुति हुन्छ। नेपालमा “सालिक” प्रतिको राष्ट्रिय मान्यता वा राष्ट्रिय मापदण्ड भित्र सालिक को परिभाषा समेत हाम्रो राज्य व्यवस्था भित्र छैन। यो निकै दु:खद पक्ष हो।

नेपालमा सालिक निर्माण को प्रचलन बहुदल अघि भने केही हद सकारात्मक र आवश्यक रहेपनी बहुदलपछि “सालिक” प्रतिको गरिमा र सम्मानमा आघात पुगिरहेको अनुभवको दायरा भने बढ्दो छ। तत्कालिक राजनीतिक लाभ वा परिवारवाद को वरिपरि “सालिक” निर्माण गर्ने तथा संघर्ष को स्वामित्व लिन कै लागिपनी अनावश्यक तछाडमछाड द्वारा “सालिक” निर्माण गर्ने संस्कार आफैंमा आवश्यक हो वा अनावश्यक संस्कार को रुपमा स्वीकार गर्ने? मुख्य प्रश्न यहि हो।

अब स्वर्गीय “प्रकाश दाहाल” को पृष्ठभुमि बारे संक्षिप्त चर्चा गरौं ।

प्रकाश दाहाल:- पुष्पकमल दाहाल उर्फ प्रचण्ड को एकमात्र पुत्र हुन् । प्रकाश दाहाल को बुवा प्रचण्ड को नेतृत्वमा जनयुद्ध   भएको कारण भुमिगत अवस्थाको बाध्यात्मक स्थितिमा पुत्र प्रकाश दाहाल को बसोबास पनि प्रचण्ड सङ्गै भारत मै थियो।

यश अवस्थामा पुत्र प्रकाश दाहल को पालनपोषण, शिक्षा भारत मै भयो। शान्ति प्रक्रिया प्रारम्भ पश्चात्  प्रचण्ड को पुत्र पनि रहेछ्न र पुत्रको नाम प्रकाश दाहाल रहेछ भन्ने कुरा लोक ले थाह पायो। त्यसपछि राजनीतिक र पारिवारिक रुपमा प्रचण्ड पुत्र प्रकाश दाहाल बाजारमा चिनिन थाले।

जनयुद्ध समयावधिभर प्रचण्ड पुत्र प्रकाश दाहाल सांगठनिक रुपमा सङ्गठित भएर कुनैपनी कमिटीमा कृयाशिल भएको प्रमाण माओवादी बृत्तका मानिसहरु सङ्ग छैन भन्ने मेरो दावी छ। शान्ति प्रक्रिया पश्चात् चिनिन थालेका प्रकाश शान्ती प्रक्रिया प्रारम्भ सङ्ग सङ्गै संगठित भएर राजनीतिक रुपमा कृयाशिल भएको दावी पनि हो मेरो।

जनयुद्ध ताका भारत मै बसोबास गरेका प्रकाश शान्ति प्रक्रिया यता पार्टी अध्यक्ष अर्थात बुवा प्रचण्ड कै सचिवालय मा “डाइरेक्ट इन्ट्री” गरेर राजनीतिक चिनारी प्रारम्भ गरेका थिए। सेल कमिटी को स्वाद समेत नचाखेका प्रकाश डाइरेक्ट पार्टी अध्यक्ष को सचिवालय प्रमुख तथा स्वखिय सचिव पद पाएपछि त्यसैको आडमा केही बर्ष कृयाशिल भएपछि प्रकाश को “डाइरेक्ट इन्ट्री” केन्द्रिय सदस्य पद मा भयो।

यसैक्रममा स्व. प्रकाश दाहाल राज्यको दुई करोड ढुकुटी लिएर हिमाल यात्रामा गएका थिए जसलाइ त्यतिबेला “दुई करोड ढुकुटीको हनिमुन प्रकरण” को रुपमा निकै विवाद भएको थियो। दुई करोड लिएर गएका प्रकाश ले त्यही हिमाल यात्राबाट प्रचण्ड को लागि बुहारी बिना मगर लिएर फर्केका थिए यहि कारण पनि विवाद थियो। तर आज त्यही प्रकरणलाई ” पर्वतारोहण” को जलपमा “सालिक” ठड्याइएको छ।

स्व. “प्रकाश दाहाल” लाई राजनीतिक रुपमा अनुभव गर्दा:-

याहा सम्म चर्चा गर्दा “सालिक” को लागि चाहिने आधारहरु प्रकाश दाहालमा केही भेटिदैन। भेटिन्छ त केवल प्रचण्ड पुत्र भएकै कारण समयभन्दा पहिल्यै लाभका पदहरुमा पुगेको र त्यसैको आधारमा हाइलाइट भएको, यत्ती हो! यश बाहेक प्रकाश दाहाल कुनै भैंकर इतिहास रचेको वा बोकेको व्यक्तित्व पनि थिएनन्, यसो भनिरहदा जनयुद्ध सङ्ग जोडेर मुल्यांकन गर्ने एउटा जमात पनि छ, यदि जनयुद्ध कै आधारमा मुल्यांकन गर्ने हो भने त भविस्यमा मेरो पनि सालिक बन्नुपर्छ भन्ने दावी मैले पनि गर्छु तर त्यो महत्त्वाकांक्षी अराजकता हो भन्ने कुरामा म सचेत छु।

राजनीतिमा प्रयोग हुने शब्दमा भन्नुपर्दा कुनै त्यस्तो “टावरिङ प्रस्न्यालिटी” पनि होइन, अथवा अर्को शब्दमा कुनै त्यस्तो “शिखर पुरुष” पनि होइनन्, हाम्रो पुस्ताले याद गर्नैपर्ने धुरन्धर राजनीतिकज्ञ वा दार्शनिक पनि होइनन् त्यसैले पनि “प्रकाश दाहाल क्याटोगरीका सालिक” के कति कारण ले आवश्यक भयो र हामिले स्वीकार गर्ने?

स्व. दाहालको राजनीतिक जीवन को आधारलाइ मानेर “सालिक” स्वीकार गर्ने हो भने पनि उधुम राजनीतिक युग बोकेको वा त्यस प्रकारको इतिहास निर्माण गरेर एक समयको इतिहास कायम गरेको आधार पेश गर्ने खालको पनि तर्क आफैंमा बच्कना आधार हुनजान्छ, किनकी स्व. प्रकाश दाहाल जत्तिकै राजनीतिक चिनारी बोक्ने हाम्रो राजनीतिक समाजमा हजारौं व्यक्तिहरु छन् , के अब हजारौं सालिक निर्माण गर्ने? यसकारण त्यस प्रकारका “सालिकहरु” कुनैपनी कोणबाट जायज देखिदैनन्।

स्वीकार गर्न सकिने र आवश्यक “सालिक” :-

“सालिक” निर्माण गर्नै हुदैन भन्ने तर्क पेश गर्न खोजेको भने अवस्य होइन। तर “सालिक” निर्माण गर्दा कस्तो व्यक्तित्व छनौट गर्ने वा “सालिक” को निम्ति योग्य व्यक्तित्व सम्बन्धि आधारभुत सिद्धान्त वा मान्यता वा मापदण्ड तय गर्ने भन्ने सम्मको व्यवस्था नहुनु हाम्रो राजनीति को गल्ती चैं जरुर हो।

१.हामिले स्वीकार गरेको र आवश्यक “सालिकहरु” नेपाल को राजनीतिक आन्दोलनका “चारजना प्रथम सहिदहरु” जो नेपालको गलत राज्य व्यवस्था विरुद्ध को प्रथम आन्दोलनमा प्रथम सहिद हुनेहरु जसले एउटा इतिहास निर्माण गरे!

२. जनयुद्ध को प्रथम सहिद भनेर चिनिने “दिल बहादुर रम्तेल”  (भलै यश मामिलामा मेरो व्यक्तिगत आपत्ति छ) तर सामुहिक स्वीकार भएको तथ्य हो! जो व्यवस्था परिवर्तनको जनयुद्ध मा प्रथम सहिद भए।

३. पृथ्वीनारायण शाह, भिमसेन थापा, भक्ति थापा, बलबहादुर कुँवर जसले नेपाल (देश) निर्माण गरे अंग्रेज़ सङ्ग लडेर देश बचाउने कार्य सहित एउटा युग नै संचालन गरे

४. जङ्गबहादुर राणा जसले केही सामाजिक र राजनीतिक व्यवस्थागत सुधारमा योगदान गर्दै मुलतः तानाशाह को रुपमा एउटा युग को नेतृत्व गरेर युग पुरुष को रुपमा देखा परे।

५. हिटलर, चे ग्वेभारा, गोन्जालो, माओ, लेलिन, मार्क्स, स्टालिन, नेपोलियन, सद्दाम हुसेन, नेल्सन मण्डेला,स्मिथ, जन लक, आइन्स्टाइन, आदि इत्यादीका व्यक्तिहरु ले नकारात्मक/सकारात्मक युग निर्माण गर्दै आफ्नो व्यक्तित्व स्थापित गरेका थिए।

६. राजा महेन्द्र जसले धेरै उदारवादी र केही प्रगतिशील कार्य गरेर एउटा इतिहास रचे ।

७. राजा विरेन्द्र जो शान्ती प्रेमी र प्रजाको मनमा बस्न सफल व्यक्तित्वको रुपमा स्थापित थिए।

८. राजा ज्ञानेन्द्र जो दुइपटक गद्दिरोहण गरेका तथा माओवादी आन्दोलन सङ्ग संबंधित राजा भएको कारण र राजनीतिक कू गरेर एउटा युगको इतिहास बोके।

९. राजा दिपेन्द्र जसमाथी दरवार हत्याकाण्ड को आरोप लाग्यो र २२ घन्टा राजा भएका कारण ले पनि आउदा पुस्ताले यसबारे इतिहास को अध्यन गर्न जरुरी छ।

१०. मातृकाप्रसाद कोइराला जसको नेतृत्व मा रास्ट्रघात सम्झौताहरु र राजनीतिक गद्दारीको इतिहास छ।

११. गिरिजा प्रसाद कोइराला जो नेपालको राजनीतिमा लामो समय नेपाली काङ्ग्रेस को नेतृत्व मा रहे र सबैभन्दा बढी प्रधानमन्त्री बने भने माओवादी आन्दोलनलाई सेफ ल्यान्डिङ  गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह पनि गरे साथै केही रास्ट्रघातमा समेत सम्मीलित भए। समग्रमा शिखर पुरुष को रुपमा स्थापित भए।

१२. बिपि कोइराला जो प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेताको रुपमा स्थापित हुन पुगे।

१३.पुष्पलाल जसको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामक राजनीतिक दलको स्थापना भयो।

१४. मदन भण्डारी जननेता को रुपमा स्थापित भए।

१५. गणेशमान सिंह जसले २०४६ को जनआन्दोलन को नेतृत्व गर्दै आन्दोलन सफल बनाए।

१६.. पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई जसले जनयुद्ध संचालन गर्दै नेतृत्व निर्वाह सहित राज्य व्यवस्था परिवर्तन आन्दोलन को इतिहास रचे।

१७. किसुन जि जो सन्त नेताको रुपमा स्थापित हुँदै केही दीर्घकालीन महत्वका योजनाहरु निर्माण गरे।

यस्तै पासाङ ल्यामु शेर्पा, नारायण गोपाल, भक्तराज आचार्य, भानुभक्त, पारिजात, बुद्ध, पेले, म्यारोडोना, मेसि, जस्ता धेरै नामहरु र व्यक्तित्वहरु जसले युग को नेतृत्व गरे अझ भनौ युग निर्माण गरे अझै भन्नुपर्दा अध्यनको लागि र सम्झनै पर्ने इतिहास कायम गरे। यस्तै उल्लेखित क्याटोगरिका “सालिकहरु” स्विकार्न सकिन्छ र आवश्यक पनि छ। याहा मैले आवश्यक “सालिकहरु” सम्बन्धि सामान्य शब्दमा सामान्य उदाहरणको रुपमा पेश मात्रै गरेको हुँ,जसले युग को नेतृत्व गरे, जसले इतिहास निर्माण गरे,जसले समाज र संसार कै निम्ति बिचार दिए, जसले मार्गदर्शन दिए,  जो शिखर व्यक्ति को रुपमा स्थापित भए ।

तसर्थ स्व. प्रकाश दाहाल को “सालिक” राजनीतिक रुपमा पनि अनावश्यक लाग्दछ। हल्का वा अनावश्यक  रुपका सालिक निर्माण गर्दा अध्यात्मिक तर्कमा भन्ने हो भने स्वयंम मृतक को आत्मा ले शान्ति पाउदैन र अनावश्यक सालिक मार्फत मृतकको जहिल्यै अपमान भैरहेको हुन्छ। तथापि जनयुद्ध वा माओवादी आन्दोलनलाई आधार मानेर स्व. दाहालको “सालिक” स्वीकार गर्नैपर्ने ऐतिहासिक अध्यन मुलक व्यक्तित्व हुँदै होइन। त्यसो त हजारौं प्रकाश दाहालहरु माओवादी आन्दोलन मा सरिक थिए के अब ती सबैको “सालिक” आवश्यक पर्छ? पर्दैन। आवश्यक पर्ने भनेको माओवादी आन्दोलन संबंधित समग्र “संग्राहलय” को निर्माण चैं हो।

अब “पर्वतारोहण” बारे पनि चर्चा गरौं :-

” पर्वतारोहण संबंधित सालिक” मुलतः पाँच वटा अर्थमा आधारित हुनेगर्छ।

१. “पहिलो पर्वतारोहण”का रुपमा

२. “पहिलो पुरुष” पर्वतारोहण का रुपमा

३. “पहिलो महिला” पर्वतारोहण का रुपमा

४. “सबैभन्दा कम समयमा” पर्वतारोहण गर्ने व्यक्ति का रुपमा

५. “सबैभन्दा कम उमेरमा” पर्वतारोहण गर्ने व्यक्ति का रुपमा

६ “धेरैपटक पर्वतारोहण गर्ने” व्यक्ति का रुपमा

उक्त ६ कारण वा आधारहरु अन्तर्गत पर्वतारोहण गर्ने व्यक्ति को सालिक बन्ने गर्छ, यसरी हेर्दा स्व. प्रकाश दाहाल को सालिक “पर्वतारोही”को आधार अनुसार पनि अनावश्यक छ।

हाम्रो देशमा “सालिक” निर्माण सम्बन्धि नीति/आधार/मापदण्ड सम्बन्धि को कानुन को आवश्यकता पनि छ। स्थानीय तहमा स्थानीय स्तरले निर्माण गर्ने वा गरेका सालिकहरु प्रती मेरो कुनै टिप्पणी छैन तर राष्ट्रिय तहमा राष्ट्रिय स्तरबाट निर्माण हुने सालिकहरु चैं ओझपुर्ण हुन जरुरी छ।

जस्तो एउटा उदाहरण दिनुपर्दा खेलकुद सम्बन्धि सालिक निर्माण गर्दा भविस्यमा क्रीकेटर “पारस खड्का” को बन्न आवश्यक छ,राजनीतिक सालिकहरु बन्नुपर्दा प्रचण्ड को बन्न आवश्यक छ, मेडिकल सेक्टरबाट  डा. सन्दुक रुइत,बिज्ञानबाट नेपाली  बैज्ञानिक महाविर पुन, कलाकारिता सेक्टरबाट निरशाह, राजेश हमाल, करिस्मा मानेन्धर, जितु नेपाल, शिवहरी खड्का, दिपकराज गिरि, दिपा श्री निरौला,राजेन्द्र खड्की, एवं  सामाजिक तथा कलाकारिता बाटै धुर्मुस-सुन्तली, पत्रकारिता सेक्टरबाट बिजयकुमार जस्ता व्यक्तित्वहरु “सालिक” को लागि योग्य छन्  किनकी निजहरुले आ-आफ्नो सेक्टर सम्बन्धि युग को नेतृत्व गरेको  तथ्यलाइ कसैले नकार्न सक्दैन।

यसमा धेरै बहस होला नै  तर हामिले कस्तो प्रकारको सालिक” लाई मान्यता दिने/स्वीकार गर्ने भन्य विषय नै सालिक सम्बन्धि प्रमुख बहस हो। आशा छ तपाइँहरु यो बहसमा सहभागी बन्नुहुने छ।

राजु ढुंगाना- प्रनिल 
लेखक तथा राजनीतिक विश्लेषक

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय