काठमाडौं- स्थानीय तह निर्वाचनमा नेकपा एमालेको हारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अन्तर्घात’ भने पनि पार्टी विभाजन नै प्रमुख कारण हो भन्ने ओलीको भित्री बुझाई छ । त्यसैले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन थालेका छन् ।माधव नेपालको भित्री कमजोरी थाहा पाएका ओलीले आगामी प्रदेश र संघको निर्वाचनका लागि नेपाललाई प्रधानमन्त्री बनाएर जाने पहिलो रणनीति बनाएका छन् ।
माधवकुमार नेपालले मानेनन् भने ओलीको दोस्रो रणनीति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने हो ।नेपाल र प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नुको कारण गठबन्धन भत्काउनु हो । तर, नेपाल र प्रचण्ड ६ महिनाका लागि प्रधानमन्त्री बन्न गठबन्धन छाड्ने पक्षमा छैनन् । नेपाल र प्रचण्डले ओलीका दूतलाई यो कुरा सुनाइसकेका छन् ।
एमालेभित्र अहिले अध्यक्ष ओलीले पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुपर्छ र पर्दैन भन्ने बहस तीब्र भएको छ ।स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा पुर्ती गर्नका निम्ति पार्टी एकता र वामगठबन्धनको दिशातर्फ अग्रसर हुनुपर्ने बहुसंख्यक एमाले नेताको राय छ ।तर, ओली ‘मार्गप्रशस्त’ का नाममा अध्यक्ष पदबाट राजीनामा दिन तयार छैनन् ।
अझै नेपाल र प्रचण्डलाई ‘ललिपप’ देखाएर गठबन्धन भाड्ने पक्षमा छन् । स्थानीय निर्वाचनको परिणाम आएपछि एमालेभित्र विकसित घटनाक्रमलाई हेर्दा कि पार्टी एकता कि अर्को विभाजनको दृश्य देखिन्छ ।ओली यसरी नै अहंकारी र दम्भी भएर पेश हुने हो भने पार्टी त रसातलमा पुग्छ नै,थुप्रै नेता र कार्यकर्ताका सपना पनि त्यससँगै चकनाचुर हुने स्थितिबारे कुरा उठाउने नेताहरुलाई ओलीले निषेध गर्न थालेका छन् ।
ओलीसँग नियमित भेट्ने नेताहरूले ‘राजीनामा दिनुहुँदैन’, ‘पालिकाहरुको संख्यामा हारे पनि भोट हाम्रै बढी छ’, ‘बरु, गठबन्धनमा फुट ल्याउनुपर्छ, राजीनामा त दिनै हुँदैन’ जस्ता सुझाव दिँदै फर्किएका छन् ।यी सुझावहरू सुनेर ओली दंग छन् । तर, स्वयं ओलीसँग कुरा राख्ने अवसर नपाएका नेताहरू विभिन्न अन्तर्वार्ता र आन्तरिक भेला, बैठकमा ओलीले ‘मार्गप्रशस्त’ गर्नुपर्छ भनिरहेका छन् ।
स्रोत भन्छ, ‘ती कुरा ओलीलाई मन परेको छैन ।’ एमालेका एकजना पोलिट्व्युरो सदस्य भन्छन्,‘यसकारण एमालेमा ओलीलाई मन नपरेको र मन लागेको काम हुनै सक्दैन । त्यसैले पार्टी एकता सम्भव छैन ।’एमालेभित्र विकास भएको ‘मार्गप्रशस्त’ र ‘छाड्नै हुँदैन’ भन्ने लाइनमा लागेका नेताहरू पनि थरिथरिका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको लाइन ‘मार्गप्रशस्त’ हो ।
तर, उनले यो लाइन लिनुका पछाडि पार्टी विभाजन गरेर गएका नेताहरू फर्किउन् र एकता होस् भन्नका लागि हैन ।उनले ओलीले राजीनामा दिए त्यसलगत्तै आफू कावा अध्यक्ष हुन पाइन्छ भन्ने लोभले उनलाई ‘मार्गप्रशस्त’ को लाइन मन परेको हो ।यदि, ईश्वर पोखरेलका लागि त्यस्तो मौका आएमा त्यसैमा टेकेर,केही समय पार्टी अध्यक्ष चलाउने र एकताका क्रममा,
अध्यक्षको हैसियतले आफू र आफ्ना मान्छेहरूको राम्रो सेटलमेन्ट गर्ने नियत उनले राखेको स्रोतले बताएको छ ।ओलीले पार्टी एकताका निम्ति ‘मार्गप्रशस्त’ गर्नुपर्ने पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, प्रदीप ज्ञवाली,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतसहितका नेताहरू छन् ।विशेषतः अन्तिममा माधवकुमार नेपालको साथ छोड्ने,
१०बुँदे सम्झौता पक्षधर नेतामध्ये सबैजसो ‘मार्गप्रशस्त’ पक्षधर छन् । तर, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, खगराज अधिकारी,गोकुल बास्कोटासहितका नेताहरू ‘कुनै हालतमा राजीनामा दिनु हुन्न’ भन्ने लाइनमा छन् ।उनीहरू देशभरका पालिका प्रमुखका उम्मेदवारहरूले पाएको कूल मत ३८ लाख ९ हजार ६ सय ९८ र कांग्रेससँग ३७ लाख ३४ हजार ७ सय ७९ को आँकडा देखाउँदै पार्टी,
अहिले पनि ठूलै भएको जिकिर गर्दैछन् ।‘कुनै हालतमा राजीनामा दिनुपर्दैन’ भन्ने पक्षका नेताहरूसँग ओलीनिवास बालकोटमा अलिक बढी कुराकानी हुने गरेको छ ।तीमध्येका एकजना नेताले बताएअनुसार, अब ओलीले पुष्पकमल दाहाल प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गर्दै एकताको आह्वान गर्ने मनस्थिति बनाएका छन् ।यसक्रममा प्रचण्डलाई उक्त अफर सुनाउन केही नेतालाई ओलीले खुमलटार पु¥याइसकेका छन् ।
तर, माधवकुमार नेपाललाई पनि यो अफर सुनाउन भनी अह्राइएका नेताहरू उनीसँग जान हिचकिचाइरहेका छन् ।ओलीले यो जिम्मा विष्णु पौडेललाई दिएका थिए । तर, पौडेलले ‘बेकारमा गाली खान किन जानु’ भन्दै आनाकानी गरेका छन् ।










