विराटनगर- प्रदेश १ सरकारले विपद् व्यवस्थापनको नाममा हेलिकोप्टर किन्ने तयारी थालेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केदार कार्कीले सरकारले हेलिकोप्टर किन्ने तयारी थालेको बताएका हुन् ।

प्रदेश सरकारको आन्तरिक मामिला मन्त्री अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन समितिले प्रदेश सरकारको मुख्यमन्त्री अध्यक्ष रहेको समितिलाई हेलिकोप्टर किन्नको लागि सिफारिस गरिसकेको मन्त्री कार्कीले बताए । ‘अहिले तत्काल उद्धारका लागि कतै जानु पर्‍यो भने ढिला हुने अवस्था आएपछि हेलिकोप्टर किन्न लागिएको हो,’ उनले भने, ‘ताप्लेजुङमा हिउँमा पुरिएर २ जनाको कति दिनदेखि उद्धार हुन सकेको थिएन, हामीसँग हेलिकोप्टर भएको भए पहिला नै उद्धार भइसकेको हुन्थ्यो ।’

पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सरकारले जनतामा निराशा हुन नदिने गरी काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भनाई छ । सरकार गठन भएको ६४ औँ दिन भएको बताउँदै उनले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरूको मर्मत सम्भार गरी पूर्वाधार विकास, आपराधिक घटना नियन्त्रण, अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनः स्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको दाबी गरे ।

ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै उनले भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने र सीमामा कडाइ गरिएको बताए । विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको मन्त्री कार्कीको भनाई छ । प्रदेशको १३७ वटै पालिकामा स्वयंसेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागू औषधविरुद्ध अभियान पनि सञ्चालन गरिने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!