काठमाडौ -बिहीबार पनि प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठकमा अवरोध जारी राखेको छ।

दसैँपछि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले वेलमा पुगेर नाराबाजी गरेका हुन्। पार्टी विभाजन गरेर एकीकृत समाजवादी निर्माणमा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले भदौ २३ गतेदेखि निरन्तर रुपमा संसद बैठकमा अवरोध गरेको छ।

पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले अवरोध जारी राखेको हो। एमालेको निरन्तरको अवरोधका कारण संसदमा विधेयक पेश हुन सकेको छैन भने दैनिक जनजीविकाका महत्वपूर्ण विषयहरु उठ्न सकेको छैन।

बैठकमा सभामुख अग्नि सापकोटाले अवरोधका कारण आम सरोकारका विषय प्रवेश गर्न नपाएको उल्लेख सदन खुलाउन आग्रह गरे। सापकोटाले भने, ‘संसद निरन्तर अवरोध हुँदा आम सरोकारका विषय उठ्न सकेको छैन। यसले राम्रा सन्देश गएको छैन। सदनको काम कारबाही सुचारु गर्न सहयोगका लागि अनुरोध गर्दछु।’

सभामुखले निरन्तरको अवरोधले सदनप्रति जनतामा पर्ने नकारात्मक प्रभावबारे विचार गर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए।

एमाले अवरोधबीच भएको बैठकले केही प्रस्ताव पारित गरेको छ। लगत्तै अर्को बैठक कात्तिक २९ गते बस्ने गरी समाभुख सापकोटाले बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय