काठमाडौं- नेकपा (एमाले)का नेता प्रभु शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दार पात्र भएको टिप्पणी गरेका छन् । गृह जिल्ला रौटहटमा दशैं, तिहार तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शाहले पार्टी विभाजन गरेर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाए । उनले देउवाको पछि लाग्ने प्रचण्ड र माधव नेपाल कुनै हालतमा कम्युनिष्ट हुन नसक्ने टिप्पणी गरे ।

उनले प्रचण्ड माओवादी नभई गद्दार नेता भएको बताए । ‘माओवाद भनेको इमान्दार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?’, उनको प्रश्न छ, ‘कम्युनिस्टको भोट लिएर प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साच्चै अर्थमा गद्दार हुन् ।

शाह पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध बिग्रिएपछि एमालेको विधान महाधिवेशनमा समेत सहभागि भएका थिएनन् । उनी माओवादीमा फर्किनको लागि शीर्ष तहसँग छलफलमा रहेको विषय पनि बाहिरिएको थियो । जुन बीचमा शाहले प्रचण्डको विरोध पनि गर्न छाडेका थिए ।

तर, विधान महाधिवेशन पछि ओलीसँग भएको बालकोट वार्तापछि भने शाहले प्रचण्डको विरोध र ओलीको समर्थन गर्न थालेका छन् । तत्कालिन नेकपा विघटनको बेलामा प्रचण्डको कडा विरोध गर्ने उनी पुनः उसैगरि विरोधमा देखिन थालेका छन् ।
सन्सर न्युज बाट साभार।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय