काठमाडौं – सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुर घटनाको मुख्य दोषी तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार रहेको निष्कर्ष निकालेको छ। संगठनले प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन्।
उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारण भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’
गत फागुन २१ गते तत्कालीन सरकारका अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।
२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको थियो।