प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका छन् ।
शुक्रबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद गठन तथा कार्यविभाजन हेरफेर गरेकी हुन् ।
गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले गठबन्धनभित्रै चौतर्फी आलोचना हुँदापनि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्री बन्ने सर्वाधिक चर्चामा रहेका माओवादी केन्द्रका नेता सुदन किँराती, हरिबोल गजुरेल, नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरी र जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई भने मन्त्री बन्न सकेनन् ।
यी ४ नेताको नाम मिडियामा ८८ दिनसम्म आइरहदा पनि शुक्रबार भने उनीहरु छुटे । प्रधानमन्त्री देउवाले कांग्रेसभित्रकै आन्तरिक सन्तुलन मिलाउन बढी मन्त्रालय दाबी गरेसँगै उनीहरु मन्त्री बन्न बाट बञ्चित भएका हुन् ।
नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित बालकृष्ण खाँण, नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र बडु, उमा रेग्मी, मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, गजेन्द्र हमाल मन्त्री बनेका छन् । त्यसैगरी कांग्रेसबाटै उमेश श्रेष्ठ प्रधानमन्त्रीको कार्यालय मातहतमा रहने गरी राज्यमन्त्री बनेका छन् ।