काठमाडौं– मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने प्रस्ताव गरेका छन्।
उक्त प्रस्तावमा गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि सहमत भएका छन्। यो सहमतिलाई एकीकृत समाजवादीले मानेको खण्डमा प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्।
बालुवाटारमा विहीबार बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएपछि मन्त्रीको नाम तय गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्नेछन्।
विहीबार विहान भएको स्थायी कमिटी बैठकमा एकीकृत समाजवादीलाई हेपेर मन्त्रालयको संख्या घटाएको र राम्रा मन्त्रालय नदिएको भनी नेता नेपाललाई सरकारमा सहभागी हुन नसकिने जानकारी दिन सुझाव आएको थियो।
स्थायी कमिटीले गठबन्धनमा भएको उक्त प्रस्ताव अनुमोदन गरेको खण्डमा मन्त्रिपरिषद विस्तार हुने निश्चित छ।