विक्रमको २०४० को दशकमा पनि कम्युनिस्ट फुटको क्रमले निरन्तरता पाइरह्यो । पुष्पकमल दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए । मशालले माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन् ।
२०४६ सालको जनआन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सीपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाममोर्चा बनाए । वाममोर्चाले नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो । त्यसपछि वाममोर्चामा आवद्ध कम्युनिस्ट घटकहरू संसदीय व्यवस्थामा प्रतिस्पर्धामा होमिए ।
‘संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो’ भन्दै तथा २०४७ सालको संविधानलाई ‘आलोचनात्मक समर्थन’ गर्दै अन्ततः नेपाली कम्युनिस्टहरू नेकपा एमालेसँगै त्यही संसदीय व्यवस्थाको भासमा फसे । आजसम्ममा उनीहरूको ‘मार्गदर्शन’ नाम मात्रको ‘साम्यवाद’मा सीमित छ ।
आज ती ‘क्रान्तिकारी’ कम्युनिस्टहरू बर्खाका ठूला जुका जस्ता बनेर संसद्मा लछारपछार गर्दै सत्ता स्वादमा मग्न मस्त छन् ।
२०४६ सालमै नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक सङ्गठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम)लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए । बहुदलपछि दाहालको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक सङ्गठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाए । मोहनविक्रमको पार्टीमा रहेका बाबुराम भट्टराई पनि यही पार्टीमा आबद्ध भए ।
यसको दुई वर्षमै सशस्त्र युद्धको विषयलाई लिएर मतभेद सुरु भएपछि निर्मल लामाहरूले एकता केन्द्र छाडे । २०५१ सालमा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेल मिलेर अर्को नेकपा (एकता केन्द्र) गठन गरे ।
दाहाल नेतृत्वको एकता केन्द्रले नाम परिवर्तन गरेर नेकपा माओवादी राख्यो । त्यसपछि दाहालको अगुवाइमा सशस्त्र युद्ध सुरु भयो । १० वर्षसम्म आततायी तवरले सशस्त्र युद्ध गरेको माओवादी देखिएको हिसाबमा १७ हजारभन्दा बढी (नदेखिएको बेपत्तालगायतको सङ्ख्या बाँकी नै छ), नेपालीको ज्यान गएपछि २०६३ सालमा शान्ति प्रक्रियामा आयो ।
र, आजसम्म माओवादी पनि अनेकौँ टुक्रामा विभक्त भइसकेको छ । मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, रामबहादुर थापा ‘बादल’हरूको खेमा माओवादीबाट अलग भयो शान्ति प्रक्रियामा आएपछि । फुट्नुमा भविष्य नदेखेपछि बादललगायत केही पुनः माओवादीमै फर्किए (अहिले एमालेमा छन् बादल) भने वैद्य र गजुरेलहरू अझै भिन्न भएर राजनीतिमा झिनो सक्रियता देखाइरहेका छन् ।
चन्दले नेकपा गठन गरेर केही समय माओवादी र विशेष प्रचण्डसँगको ‘तुष’लाई ‘सशस्त्र क्रान्ति’को दुन्दुभिले मेटाउने लहडमा लागेर पुनः शान्तिपूर्ण राजनीतिमा आइसकेका छन् ।
उता, माओवादी सशस्त्र द्वन्द्वका एक ‘डिजाइनर’ डा. बाबुराम भट्टराईले माओवादी मात्र होइन, कम्युनिस्ट आन्दोलन नै छाडेका छन् । माओवादीबाट अलग भएका बाबुराम नयाँ शक्ति पार्टी नेपालका संयोजक हुँदै अहिले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष छन् ।
२०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भए पनि माओवादीलाई हेर्ने दृष्टिकोणमा भने यी दुईबीच मतभेद कायमै रह्यो । यो समूह २०६३ सालमा आएर फेरि चिरा परेको थियो ।
पञ्चायतको अन्त्यपछि मनमोहन र सीपीको पार्टीबीच एकता भयो र बन्यो नेपाल कम्युनिस्ट पार्टी एमाले । यस पार्टीका महासचिव बने मदन भण्डारी । २०५० जेठ ३ गते मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा परी निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । र, माधव नेपालले लगभग डेढ वर्ष एकछत्र राज गरे एमालेमा ।
नेपालकालीन एमालेमा नेपालबाट पीडित इतर समूह आक्रोशित बन्दै गयो । आफ्ना विरोधी र इतर समूहका नेतालाई निमिट्यान्न पार्नुपर्छ भन्ने कम्युनिस्ट स्कुलिङ माधव नेपालमा निकै देखियो त्यस बेला । उनले आफ्ना विरोधी र इतर समूहकालाई अघोषित रूपमै बहिस्करण गरिरहे । अन्ततः त्यही इतर समूह पार्टी सत्तामा आएपछि माधव नेपालले नै एमाले छाडेर बाहिरिनुपरेको छ अहिले ।
त्यस बेला भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेद चल्यो । माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा थिए भने वामदेव गौतम विपक्षमा ।
२०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले गरेका थिए । त्यस बेला केपी शर्मा ओली महाकाली सन्धिका पक्षमा उग्र ढङ्गले लागेका थिए अर्थात् माधव नेपाललाई साथ दिएका थिए ।
विगतको तीतो अनुभवलाई सम्झिएरै हुनुपर्छ, भर्खरै माधव नेपाल खेमाले एमालेमा विद्रोह गर्दा माधव नेपाललाई ‘साथ’ दिएर पार्टी फुटाउन उत्तेजित बनाएका उनीहरूले नेपालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउँदा आफूहरू भने माउ पार्टी अर्थात् एमालेमै रहने निर्णय गरे ।
दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि २०५३ असोज ४ गते संसदले दुई तिहाइ बहुमतका साथ पारित गर्यो । एमालेभित्रैको एउटा ठूलो तप्काले महाकाली सन्धिको विरोध गर्यो । यही मुद्दाका कारण एमालेभित्र अन्तरविरोध तीब्र बन्यो । महाकाली सन्धि राष्ट्रघाती भएको प्रचारमा सीपी मैनाली, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराईहरू लागे ।
अन्ततः त्यसको असर एमालेको छैटौँ महाधिवेशनलगत्तै देखियो । २०५४ फागुन २१ गते एमाले औपचारिक रूपमै विभाजित भयो । सीपी मैनालीले ‘एक्लो बृहस्पति’ बनेर फुटेर गएको नेकपा (माले)लाई आजसम्म सम्हालिरहेका छन् तर पार्टी छाडेर हिँडेका वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराईलगायतकाहरू भने ‘पुनर्मुसिको भवः’ भएर चार वर्षपछि एमालेमा फर्किए ।
यसको कारण थियो, २०५६ सालको आमनिर्वाचनमा शून्य सिटमा चित्त बुझाउनु । यसपछि मालेमा भविष्य नदेखेर एमालेमै फर्किएका उनीहरू धेरैले एमालेबाट सांसद र मन्त्री खाने सौभाग्य पाइसकेका छन् ।
यो विगतको तीतो अनुभवलाई सम्झिएरै हुनुपर्छ, भर्खरै माधव नेपाल खेमाले एमालेमा विद्रोह गर्दा माधव नेपाललाई ‘साथ’ दिएर पार्टी फुटाउन उत्तेजित बनाएका उनीहरूले नेपालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउँदा आफूहरू भने माउ पार्टी अर्थात् एमालेमै रहने निर्णय गरे ।
२०७५ सालमा नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकता भएको थियो । एकतापछि नै संघीय प्रतिनिधिसभामा नेकपाले झन्डै दुई तिहाइको सरकार बनायो । सात प्रदेशमध्ये छवटा प्रदेशमा नेकपाकै सरकार थियो । पार्टीभित्रको विवादकै कारण गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो । कर्णाली र सुदूरपश्चिममा भने माओवादी नेतृत्वको सरकार छ ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतालाई पुरानै अवस्थामा फर्काइदिएपछि विवादमा रुमल्लिँदै आएको नेकपा विभाजन भयो । हुँदाहुँदा अहिले नेकपा एमाले पनि आन्तरिक किचलोकै कारण विभाजित भएर माधव नेपाल खेमाले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिसकेको अवस्था छ । लोकसंबाद बाट साभार