नेपालीहरूका लागि मुख्य रोजगारदाता देशले विदेशी कामदार भित्र्याउने प्रक्रिया सरल र सहज बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि मागअनुसार श्रमिक आपूर्ति गर्ने मलेसिया र खाडीका देशले विदेशी कामदार भित्र्याउन नीतिगत प्रक्रिया सहज बनाउन थालेका हुन् ।
कतिपय खाडीका देशले कोभिड खोप लगाएका विदेशी कामदार क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नै हटाएका छन् । कतार, साउदी, यूएई, ओमान, कुवेत र बहराइनले आफ्नो देशले मान्यता दिएको खोप लगाएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् ।
यो भन्दा अगाडि खाडीका देश जाने कामदारले दुईतिर गरी करिब २८ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो । रोजगारदाता देशमा पुगेपछि १४ दिन र नेपालमै १४ दिन अनिवार्य क्वारेन्टाइन बसेपछि मात्र खाडीका देशले प्रवेश अनुमति दिने गरेका थिए ।
खाडीका देशले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएका छन् । यी खोप लगाएका विदेशी कामदारले कोरोना परीक्षण गराएको एक साताभित्र प्रवेश गर्न पाउने सुविधा समेत खाडीका देशले दिन थालेका छन् ।
योभन्दा अगाडि खाडीका देश जाने नेपाली कामदारहरूले ७२ घण्टाअघि कोभिड परीक्षण गराई नेगेटिभ रिपोर्ट आएपछि मात्र प्रवेश अनुमति पाउने गरेका थिए ।
खाडीका देशले कोभिड खोपका लगाएका विदेशी कामदारले सम्बन्धित देश प्रवेश गर्नुअघि कोरोना परीक्षण गर्ने प्रक्रियालाई समेत खुकुलो बनाएका छन् । खाडीका देशको यो निर्णयले नेपाली कामदारलाई रोजगारीमा जान सहज मात्रै भएकाे छैन खर्चसमेत कम भएकाे छ ।
भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप मात्र नेपालमा लगाइन्छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भने सरकारले जोन्सन एण्ड जोन्सन खोप लगाउने भने पनि सहजै उपलब्ध गराउन सकेको छैन । जसका कारण वैदेशिक रोजगारीमा जान चाहने कामदारले खोप समयमा नपाउने समस्या भोगिरहेका छन् ।
खाडीका देश र मलेसियाले जस्तै युरोपका देशले समेत विदेशी कामदारका हकमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् ।
यूएई
कोभिड खोप लगाएका विदेशी कामदारले यूएई प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । तर कोभिड खोप भने अनिवार्य लगाएको हुनुपर्ने यूएईको आपतकालीन, विपद तथा संकट व्यवस्थापन समितिले जनाएको छ । यसअघि यूएई सरकारले विदेशी नागरिकका हकमा अनिवार्य क्वारेन्टाइन र कोभिड परीक्षण दुई पटक गर्नुपर्ने व्यवस्था गरेको थियो ।
कोभिड खोप लगाएका विदेशी कामदारका हकमा कोरोना परीक्षणको रिपोर्ट पनि आवश्यक नपर्ने समितिले जानकारी गराएको छ । यूएईमा फाइजर, भेरोसेल, सिनोभ्याक, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन खोपलाई सरकारले मान्यता दिएको छ ।
अहिले यूएई रोजगारीका लागि मासिक ५ हजारभन्दा धेरै नेपाली कामदार जाने गरेको वैदेशिक रोजगार विभागले जनाएकाे छ । यूएई रोजगारीमा जाने कामदारका हकमा यो नियम आगामी महिनादेखि लागू हुने बताइएको छ । हाल यूएईमा ४ लाख नेपालीहरू कार्यरत रहेको यूएईस्थित नेपाली दूतावासको अनुमान छ ।
कतार
कतार सरकारले पनि विदेशी कामदारका हकमा कोरोना नियन्त्रण गर्न लागू गरेका नियम खुकुलो बनाउन थालेको छ । कतार सरकारले मान्यता दिएको कोभिड खोप लगाएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको छ । तर, रोजगारदाता कम्पनी पुगेपछि भने एक सातापछि स्वास्थ्य परीक्षण गरेर मात्र काम गर्न पाइन्छ ।
साथै, कोभिड खोप लगाएका कतार प्रवेश गर्ने विदेशी कामदारका हकमा कोरोना परीक्षण समेत कडाइ गर्न छाडिएको छ । कतार सरकारले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खाेपलाई मान्यता दिएको छ । यसमध्ये जोन्सन एण्ड जोन्सन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ ।
खोपको मात्रा पूरा गरेको १४ दिनपछि मात्र यात्रा गर्न सकिने र सशर्त स्वीकृत गरिएका सिनोभ्याक, सिनोफर्म र स्पुतनिक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।
कतारमा नेपालबाट मासिक ७ हजार कामदार रोजगारीका लागि जाने गरेका छन् । हाल कतारमा ५ लाख नेपाली रोजगारीमा कार्यरत रहेको कतारस्थित नेपाली दूतावासको अनुमान छ ।
साउदी
साउदी सरकारले समेत रोजगारीका लागि आउने विदेशी कामदारका हकमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको छ । साउदी रोजगारीमा जाने कामदारले १४ दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो ।
साउदी सरकारले मान्यता दिएको कोभिड खोप लगाएका विदेशी कामदारलाई कोरोना परीक्षणसमेत कडाई नगरिने साउदी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । साउदीले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुतनिक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ ।
विगतमा साउदी रोजगारीमा जाने कामदारले नेपालमा दुई पटक र साउदी पुगेपछि दुई पटक कोरोना परीक्षण गर्नुपर्ने हुन्थ्याे । साउदीले रोजगारीका लागि भित्रिने विदेशी कामदारलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था यही महिनादेखि हटाएको हो ।
साउदीमा रोजगारीका लागि मासिक ५ हजार नेपाली जाने गरेका छन् । हाल साउदीमा ४ लाख नेपाली कामदार कार्यरत रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
मलेसिया
मलेसिया सरकारले पनि डिसेम्बरदेखि विदेशी कामदार रोजगारीमा लिने तयारी थालेको छ । मलेसियाले तत्काल ३२ हजार विदेशी कामदार लिने घोषणा गत महिना गरेको थियो ।
मलेसियाले ३२ हजार कामदार लिने स्रोत देशभित्र नेपाललाई समेत राखेको छ । जसका आधारमा मलेसियाले विदेशी कामदार भित्र्याउँदा राख्ने क्वारेन्टाइनसमेत बनाइरहेको बताइएको छ । मलेसियाले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन र चिनियाँ भेरोसेल खोपलाई मान्यता दिएको छ ।
मलेसियामा करिब साढे ३ लाख नेपालीहरू रोजगारत छन् । कुवेत, बहराइन, ओमान र जोर्डनले समेत मान्यताप्राप्त खोप लगाएर आएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको त्यहाँ रहेका नेपाली नियोगहरूले जानकारी दिएका छन् ।
युरोपका देशले समेत रोजगारीका लागि भित्रिने विदेशी कामदारका हकमा सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएका छन् । यी खोप लगाएका कामदारले क्वारेन्टाइन बस्नु पर्दैन । हाल वैदेशिक रोजगारीमा दैनिक ३ सयभन्दा धेरै नेपाली जाने गरेको वैदेशिक राेजगार विभागले जनाएकाे छ । शिलापत्र बाट