असोज १९ , काठमाडौँ :- ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।