काठमाडाैं- नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा सरकार विस्तार हुन नसकेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा महासचिव भुसालले भने, ‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ। मन्त्रालय टुंगो लाग्ने बित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिन्छन्।’ उनले आफ्ना अध्यक्ष माधव नेपाल विरामी भएकाले सरकार विस्तारमा केही समस्या भएको पनि बताए।

‘सरकार विस्तार छिट्टै हुन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ। अहिले हाम्रो अध्यक्ष विरामी भएर अस्पतालमा हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्री पनि व्यस्त भएकाले भेटघाट गर्न भ्याउनुभएको छैन होला। अब छिट्टै सरकार विस्तार हुन्छ।’

सरकारले पूर्णता पाउनेबारे भविष्यवाणी गर्न नसकिने बताए। ‘राजनीतिमा भविष्यवाणी गर्न सकिँदैन। सरकारलाई पूर्णता दिने सवालमा हाम्रो पार्टीबाट बाधा छैन’, उनले भने, ‘माधव नेपाल विरामी भएर प्रधानमन्त्रीसँग भेटवार्ता हुन नपाएको हो। मेरो विचारमा भोलिसम्म सरकार विस्तार हुनसक्छ।’

भुसालले अहिले अर्ली इलेक्शन असम्भव रहेको पनि टिप्पणी गरे। ‘अहिले अर्ली–इलेक्शन गर्ने सम्भव कुरा होइन। प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न पाउनुहुन्न’, उनले भने, ‘गर्नुभयो भने त्यो पनि असंवैधानिक हुन्छ। सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ। अहिले त्यो बाटो जाने स्थिति छैन।’

उनले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भ मेलाको संज्ञा दिए।

‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौँ रकम पैसा खर्च गरेर मोज गर्ने थलो बनाइएको छ। त्यहाँको तामझाम र गतिविधि हेर्दा ओलीको प्रशंसामा गीत गाउने, भजन गाउन कुम्भ मेला मात्रै हो’, उनले भने, ‘त्यहाँ न विचार छ, न कुनै दृष्टिकोण छ। नयाँ कुरा मैले केही पनि देख्दिन। फरक विचार राख्नै पाइएन। घनश्याम भुसालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेश गरे, तर गोदावरीमा त्यो अघि बढाउन दिइएन।’

उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्ने एमालेको प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको उनले बताए।

‘विचारको विविधतालाई अंगिकार गर्ने काम भएन। ओलीको प्रतिवेदनमा न्यायालयमाथि विषवमन गरिएको छ। स्वतन्त्र न्यायालयमाथि धावा बोल्ने काम गरिएको छ’, उनले भने, ‘कानुनी राज्यको सिद्धान्त पालना गर्ने कुरा पनि एमालेमा छैन। पार्टीलाई विधानअनुसार चलाउने कुरा पनि देखिँदैन। अहिलेको भेला ओलीको प्रशंसामा गीत गाएर सकिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय