क्वालालम्पुर- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्यो ।
३८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको खबर यश अघि समाचार सम्प्रेषण गरीसकेका छौ। आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेकाे अवस्थामा ती महिला पक्राउ परेको प्रहरीले मलेसियास्थित नेपाली दूतावासलाई जानकारी गराएको छ ।
दूतावासका अनुसार ती महिला १० वर्षदेखि मलेसियामै बैधानिक रुपमा बसेर काम गदै आएकी थिइन् । सो अवधिमा उनले थुप्रै कम्पनीमा काम गरिसकेको प्रहरीलाई बयान दिएकी छिन् ।
पछिल्लो समय एक नेपालीभाषी भारतीय युवासँगकाे सम्बन्धले गर्भ बसेकाे उनले प्रहरीलाई बताएको दूतावासले जनाएकाे छ । ती महिलाले गर्भपतन गराएकी हुन् वा बच्चा जन्माएर हत्या गरेकी हुन् खुल्न नसकेकाे दूतावासका अधिकारीले बताएका छन् । प्रहरीले भने बच्चा जन्माएर दुई जना मिलेर हत्या गरेको आराेप लगाएकाे छ ।
प्रहरीले महिलाका प्रेमीलाई हालसम्म पक्राउ गर्न सकेको छैन । महिलालाई भने मलेसिया प्रहरीले गत बिहीबार नै अदालतमा उपस्थित गराइसकेको छ ।
ती महिला विगत १५ दिनदेखि काममा नगइ कोठामा आराम गरेर बसेकी थिइन् । शरीर, हातखुट्टा सुन्निएर बिरामी परेपछि उपचारका लागि अस्पताल जाँदा ती महिला सुत्केरी रहेकाे चिकित्सकले थाहा पाएका थिए । मलेसियामा अवैध गर्भधारण गर्नु र बच्चा जन्माउन कानुनी बन्देज छ । सोहीकारण अस्पतालले प्रहरीलाई ती महिलाबारे जानकारी गराएकाे थियाे ।
मलेसियन कानुनमा अवैध सम्बन्धबाट बच्चा जन्माउने महिलालाई जन्मकैद जेल र मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । अवैध रुपमा मलेसिया बसेकाले उनीमाथि थप सजाय हुनसक्छ ।
तर ती महिलाबारे कुनै सूचना नभएको दूतावासले जनाएको छ । अवैध तवरले बसेकाले ती महिलासँग पासपोर्ट लगायतका कुनै परिचयपत्र नभएको बताइएको छ । ती महिला सन् २०११ मै मलेसिया पुगेकाे प्रहरीसमक्ष बयान दिएकी छन् ।
‘मलेसियामा अवैध रूपमा पुगेका महिला गैरकानुनी गतिविधि र अन्य माध्यमबाट धेरै पैसा कमाउन खोज्दा कानुनी फन्दामा पर्ने गरेका छन् । उनी पनि सोही अनुसार समस्या परेकाे प्रारम्भिक सूचना छ । हामी कानुनी सहायता दिने काेसिस गरिरहेका छौं’, दूतावासका एक कर्मचारीले भने ।
उनका अनुसार मलेसिया रोजगारीका लागि पुगेर भारतीय, बंगाली नागरिक, मलेसियाली, फिलिपिनी र चिनियाँ नागरिकसँग प्रेम सम्बन्ध राख्ने र यस्तै खाले समस्यामा फस्ने महिलाकाे संख्या बढिरहेकाे छ । केही वर्षयता याे ठूलै समस्याका बनेकाे ती कर्मचारीले बताए।
मलेसियामा १ लाख ६० हजार नेपाली अवैध रुपमा बसिरहेको दूतावासकाे अनुमान छ । त्यसमा महिलाकाे संख्या पनि उल्लेख्य छ ।
अवैध रुपमा बस्ने नेपालीहरु बारम्बार समस्या पर्ने गरेको मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डे बताउँछन् । अवैध रुपमा बसेका नेपालीहरु समस्यामा परे उद्धार गर्न, कागजात बनाउन र स्वदेश फर्काउन पनि समस्या हुनेगरेको उल्लेख गर्दै उनी भन्छन्, ‘अवैध रूपमा मलेसिया आउने र पैसा कमाउने लोभले जतिसुकै जाेखिममा भए पनि स्वदेश नफर्किने प्रवृत्तिले समस्या भइरहेकाे छ ।’
रोजगारीको खोजीमा मलेसिया पुगेका १ सय १० जना नेपाली विभिन्न किसिमका आपराधिक क्रियाकलापमा संलग्न, करार अवधि सकिए पनि स्वदेश नफर्किएको तथा कम्पनीबाट भागेर अवैध बनि जेल परेकाे दूतावासले जनाएको छ ।