त्यतिबेला मैतिदेवी मन्दिर वरपर फाँट थियो । बर्खामा फाँटभरि असारे भाका गाउँदै रोपाईं गरिन्थ्यो । अलि पूर्वपट्टि लागे कञ्चन बग्ने रुद्रमती (आजको धोबीखोला) भेटिन्थ्यो ।

मैतिदेवी फाँटको बीचमा थियो पोलेको ईंटाले बनेको कलात्मक दुईतले घर । घरभरि केटाकेटी थिए । घरमुली बाहिर जान लाग्दा केटाकेटीहरू दोस्रो तलाको झ्यालबाट ‘बुबा मिठाइ ल्याइदिनू है’ भन्दै कराउँथे । तिनको आवाज डिल्लीबजार पीपलबोटतिर हिंडिरहेका मानिसहरूले पनि सुन्दथे ।
यो सात दशक अगाडिको कुरा हो । फाँटबीचको त्यो घर कवि लक्ष्मीप्रसाद देवकोटाको निवास थियो ।

तीन-चार ठाउँमा जागिर खाने देवकोटा घर ओहोरदोहोर गइरहन्थे । साँझ अबेला र्फकन्थे । साहित्य, जागिर, ट्युसन, राजनीतिमा सक्रिय देवकोटाकोे कर्मठ जीवनको आभाले मैतिदेवी-डिल्लीबजार क्षेत्र चम्किएको थियो । उनलाई घरमा भेट्न दिनहुँ दर्जनौं मानिस आइरहन्थे ।

देवकोटाको निधनपछि र छोराछोरी लाखापाखा लागेसँगै यो घर (कवि कुञ्ज) दुई दशकसम्म अलपत्र पर्‍यो । २०७२ सालको महाभूकम्पले थप जीर्ण बनाएको कवि कुञ्ज सरकारले किनेर संग्रहालय बनाउने निश्चित गरेको छ । जसअनुसार सोमबारदेखि भत्काउन थालिएको छ ।

कवि कुञ्जकै छेउमा घर बनाएर २०४९ मा सरेका महाकवि पुत्र पद्म देवकोटा निःशब्द भएर आफू जन्मे-हुर्केको घर भत्काएको हेरिरहेका भेटिए । झ्यालबाट बुबालाई बोलाउने फुच्चेमध्ये पद्म पनि एक थिए । उनले यही घरमा जीवनको अधिकांश समय बिताए ।

मूलघर भत्काउँदा आफू भावुक भएको कुरा उनले फेसबुकमा पनि लेखे । छोरा पद्म मात्र होइन छिमेकका पुराना मानिसहरू पनि देवकोटाको घर भत्काउँदा दुःख लागेको बताउँछन् । महाकवि देवकोटाको घर खोज्दै आउने आगन्तुकहरूलाई यी छिमेकीले कवि कुञ्जको दैलोसम्म ल्याइदिन्थे ।

देवकोटा निवास फगत घर थिएन । यो कविको कुञ्ज रहेको कुरा शंकर लामिछानेले ‘बिम्ब प्रतिबिम्ब’मा लेखेका छन् । लामिछाने एकाबिहानै आएर काव्य-साधनामा मग्न देवकोटासँग भलाकुसारी गर्ने ठाउँ थियो, यो घर ।

भवानी भिक्षु, माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव लगायत साहित्यकारहरूको जमघट यही घरमा हुन्थ्यो । भारतीय विद्वान् राहुल सांकृत्यायन काठमाडौं आउँदा देवकोटाको दैलो छुटाउँदैनथे ।

देवकोटाका साहिंला छोरा पद्मले बुबाकै पेशा समाए । साहित्य रचना र जीविकोपार्जनका लागि प्राध्यापन गरे । उनले ‘सम्झनामा बुबा महाकवि देवकोटा’ पुुस्तकमा पितासँगका सबै कुरा खुलाएका छन् । आफ्नो ऐतिहासिक घरको सबै पक्ष उक्त पुस्तकमा खोलेका छन् ।

पद्मका अनुसार मैतिदेवी फाँटमा बन्दाबन्दैको दुई तलाको ईंटाको घर देवकोटाले १९९९- २००० साल आसपासमा सालमा तीन हजार ६०० रुपैयाँमा किनेका थिए । २००० सालमा जेठी छोरी सावित्रीको विवाह धोबीधाराको मूलघरबाटै गरेपछि देवकोटाको परिवार मैतिदेवीको यो घरमा सरेको थियो । महाकविले करीब १५ वर्ष यही घरमा बिताए ।

२०१४ सालमा शिक्षामन्त्रीबाट हटेपछि उनले यो घरमा तेस्रो तला थपेका थिए । त्यसबेला राति काठ चोर्न आएका एक चिनारुलाई देवकोटाले थप्पड लगाएको रोचक कुरा पद्मले ‘सम्झनामा बुबा महाकवि देवकोटा’मा उल्लेख गरेका छन् ।

२०५२ सम्म कवि कुञ्जमा देवकोटाकी श्रीमती मनदेवी बसिन् । २०५६ फागुन ७ गते मनदेवीको निधन भएपछि भने देवकोटाको घर निर्जन जस्तै बन्यो । २०६९ सालमा प्रकाशित निबन्ध संग्रह ‘लोकेसन’मा पत्रकार दीपक सापकोटाले लेखेका छन्- जीर्ण घरको बार्दलीमा थोत्रा सिरक र थाङ्ना सुकाइएका छन् । ढल्किएका भर्‍याङहरू छन् । सस्ता कोठा खोज्दै हिंड्ने दुःखी जीवहरूको भीड छ यहाँ ।

अर्थात् कम आय भएका मजदूरहरू देवकोटाको घरमा भाडामा बस्ने गरेका थिए । यसले गर्दा देवकोटाको घर थप जीर्ण बन्दै गएको सापकोटाले खुलाएका छन् ।
सदस्य-सचिव उपाध्यायका अनुसार, नयाँ भवनको भुइँतलामा महाकविको आवाजको रेकर्ड र पुराना तस्वीरहरू राखिनेछ भने पहिलो तलामा उनले प्रयोग गरेका कपडा, भाँडाकुँडा र औजारहरू रहनेछन् । त्यस्तै, दोस्रो तलामा महाकविका सबै पुस्तक र अप्रकाशित पाण्डुलिपिहरू राखिनेछन् ।

तेस्रो तला भने परामर्श तथा सभाकक्ष जस्तो हुुने उपाध्यायले बताए । स्रष्टा तथा अनुसन्धाताहरूले देवकोटा संग्रहालय अवलोकन गरिसकेपछि चाहेको खण्डमा त्यहाँ अन्तरक्रिया वा कार्यक्रम गर्न सक्नेछन् ।

संग्रहालय निर्माणका लागि प्रज्ञा प्रतिष्ठानले ७ करोड ११ लाखको टेण्डर ‘जेबी ठेकेदार कम्पनी’लाई दिएको छ ।

सामाजिक सञ्जालमा भने देवकोटाको घरलाई पुरानै अवस्थामा जीर्णोद्धार गर्नुपर्नेमा भत्काइएको भन्दै विरोध भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!