लेटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लेटाङ नगर समितिको अधिवेशन जेठ १३ गते हुने निश्चित भएसँगै स्थानीय राजनीतिक वृत्तमा चहलपहल तीव्र बनेको छ। नगर सभापति चयनलाई केन्द्रमा राख्दै पार्टीभित्र आन्तरिक भेटघाट, रणनीतिक छलफल र समीकरण निर्माण तीव्र रूपमा अघि बढिरहेको छ।

नगर सभापतिका लागि प्रारम्भिक रूपमा त्रिपक्षीय प्रतिस्पर्धाको चर्चा भए पनि अन्तिम समयमा भने दुई मुख्य आकांक्षीबीच चुनावी भिडन्त हुने सम्भावना बलियो देखिएको छ। पार्टी स्रोतका अनुसार समाजसेवामार्फत राजनीतिक यात्रामा सक्रिय बनेका भरत कुमार राई प्रमुख दाबेदारका रूपमा उदाएका छन् भने निवर्तमान नगर सभापति भक्त सुवेदी पनि पुनः नेतृत्वमा फर्किने तयारीमा छन्।

यसैगरी कृष्ण भट्टराईको नाम पनि सभापतिको आकांक्षीका रूपमा चर्चामा रहेकाले सुरुआती समीकरण त्रिपक्षीय बन्न सक्ने अनुमान गरिएको थियो। तर पछिल्लो आन्तरिक छलफलका आधारमा भट्टराईले उम्मेदवारी दर्ता नगर्ने वा अन्तिम समयमा नाम फिर्ता लिन सक्ने सम्भावना रहेको एक अधिकारीले बताएका छन्।

“सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ,” निर्वाचन समितिसँग निकट एक नेताले भने, “तर मुख्य आकांक्षीहरूबीच सहमति नजुटेकाले चुनाव हुने सम्भावना धेरै बलियो बनेको छ।”

विशेषगरी भरत कुमार राईलाई सामाजिक सेवाबाट उदाएका सक्रिय युवाका रूपमा हेरिएको छ। उनले लेटाङ–कानेपोखरी सडक क्षेत्रमा झाडी सरसफाइ सञ्चालन गर्नुका साथै लेटाङमा लागू औषध नियन्त्रण अभियानको सुरुवात गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।साथै युवा पिडिलाई लागू औसधबाट कसरी मुक्त गर्न सकिन्छ?भनेर उनले लेटाङका विद्यालय तथा वडामा अभियाननै संचालन गरेका थिए।

त्यसैगरी राईकै नेतृत्वमा भौगोलिक रूपमा विकट मानिने लेटाङ–१ कटहरेस्थित श्री कन्यादेवी आधारभूत विद्यालयको चुहिने छानो फेर्न तथा रङरोगनका लागि करिब १ लाख रुपैयाँ आर्थिक संकलन गरी सहयोग गरिएको थियो। स्थानीय स्तरमा सामाजिक अभियान र युवामाझ सक्रिय उपस्थितिका कारण राईले छोटो समयमै लोकप्रियता हासिल गरेको चर्चा कार्यकर्तामाझ सुनिन थालेको छ।

यता निवर्तमान सभापति भक्त सुवेदीले संगठन निर्माण, पार्टी संरचना विस्तार र अनुभवलाई आफ्नो मुख्य आधार बनाएका छन्। पार्टीभित्र दुवै पक्षले प्रतिनिधि र कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्। निर्वाचन समितिले विवादरहित र सौहार्दपूर्ण अधिवेशन सम्पन्न गर्ने तयारीलाई तीव्रता दिएको जनाएको छ। यद्यपि आकांक्षीहरूबीच सहमति जुट्ने संकेत अहिलेसम्म स्पष्ट देखिएको छैन।

राजनीतिक वृत्तमा अहिलेको सबैभन्दा ठूलो चासो भने अन्तिम समयमा कृष्ण भट्टराईको निर्णय के हुन्छ भन्नेमा केन्द्रित छ। यदि उनले उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे, प्रतिस्पर्धा सीधै भरत कुमार राई र भक्त सुवेदीबीच हुने लगभग निश्चित देखिएको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको लेटाङ अधिवेशनले नगरस्तरीय नेतृत्व चयन मात्र नभई आगामी स्थानीय राजनीतिक समीकरणमा समेत प्रभाव पार्नेछ। त्यसैले अधिवेशनलाई लिएर कार्यकर्तामाझ उत्साह र चासो उल्लेख्य रूपमा बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय