काठमाडौँ – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमै एमाले बाहिरिएको हो ।

दुई दिनअघि सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेको आज बसेको सचिवालय बैठकमा सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको भन्दै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनले सरकारमा रहेर काम गर्ने सोच रहे पनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाए । सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभइ राष्ट्रिय अभिभारासमेत रहेकाले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उनको भनाइ रहेको थियो ।

सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्लेख गर्दै उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो, हामी चाहन्थ्यौँ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खासगरी पुस १० दुई दलबीचमा भएको सहमति अनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।’

गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो । पार्टीको निर्णयअनुसार एमालेले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय