काठमाण्डौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

मंसीर ४ गते सम्पन्न चुनावमा प्रत्यक्षमा एक सिट र समानुपातिकमा थेस्रहोल्ड कटाएको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने उद्देश्यले प्रधानमन्त्रीले भेट गरेको बालुवाटार स्रोतले बतायो ।

निर्वाचनको मतपरिणामाले सत्ता गठबन्धनमा आवद्ध दलहरूले १३८ सिट पुर्‍याएर सरकार बनाउन नसक्ने अवस्था सिर्जना भएपछि सरकार बनाउनको लागि विभिन्न दलहरूबीच तालमेल गर्ने तयारी नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आन्तरिक तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने ।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ । यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय