एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकमाथि पुनर्विचार नगरी सरकारको योजनाबमोजिम संसदले पुनः जस्ताको तस्तै शीतल निवास पठाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले संसदमा कुनै छलफल नगरी अत्यन्त अशोभनीय कार्य गराइएको बताउनुभएको छ ।
ओलीले उक्त धारणा आज राजधानीमा एमाले निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधनका क्रममा व्यक्त गर्नुभएको हो । ‘सम्माननीय राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई बाहिरबाटै पुनः फिर्ता पठाएर, छलफल नगरेर संसद र सरकारले अत्यन्तै अशोभनीय काम गरेको छ । एमालेविरुद्ध भ्रम फैलाइएको छ,’ उहाँको भनाइ छ ।
आजै उहाँले बहुमत ल्याउन पार्टीले दुई वटा काम गर्नुपर्ने निर्देशन दिनुभएको छ । अध्यक्षले भन्नुभयो, ‘मतको संरक्षण गर्नु पर्यो र नेकपा एमाले बातबहादुर पार्टी होइन कामबहादुर पार्टी हुनपर्यो ।’
लोकन्त्रलाई जीवन पद्धति बनाउन पनि एमालेले जित्नै पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । लोकतन्त्रको परिचालन, लोकतान्त्रिक विधि, पद्धति र तवरले सञ्चालन हुन जरुरी रहेको औंल्याउँदै उहाँले स्वास्थ्य,शिक्षामा परिवर्तन ल्याउने, आकर्षक रोजगारी कसरी सिर्जना गर्ने भन्ने सम्बन्धमा आफ्नो पार्टीले ध्यान दिने बताउनुभयो ।
एमालेको घोषणापत्र चुनावको निम्ति मात्र नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सबै काम गर्न सरकार चाहिन्छ,पहिले हामीले बनाएका राम्रा नीतिहरु अहिले दराजमा थन्क्याइएका छन् । त्यसका लागि पनि आगामी सरकार एमालेको बन्नैपर्छ ।’








