
काठमाण्डु- नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचन अन्तर्गत गठबन्धनमा अन्य दल भन्दा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा अनुकुल नतिजा नआएको निष्कर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोल्दै स्थानीय तहको निर्वाचनमा माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको दावी गरे । उनले माओवादी कमजोर भएको ठाउँमा गठबन्धनमा आवद्ध कुनै पनि दलहरुले सहयोग नगरेको बताए ।
प्रचण्डले अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताएका छन् । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए ।