काठमाडौं, असार  २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको तथ्य बाहिरिएको छ।

ओलीको सरकारले नेपाली सेनाको माध्यमबाट अमेरिकासँग एसपीपी स्थापना गर्न माग गर्दै पत्राचार गरेको नेपाली सेना स्रोतले जानकारी दिएको छ। ओली सरकाले २७ अक्टोबर २०१५ (१० कार्तिक २०७२) मा तत्कालिन अमेरिकी राजदुत अलाइना बि. तेप्लिजलाई पत्राचार गर्दै नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय भएको उल्लेख गर्दै पत्राचार गरेको थियो।

‘नेपाल सरकारले निर्देशन दिए बमोजिम निकट भविष्यमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम नेपालमा पनि स्थापना गर्न आधिकारिक रुपमा आग्रह गर्दछौं,’ नेपाली सेनाले २७ अक्टोबर, २०१५ मा अमेरिकी दुतावसलाई पठाएको पत्रमा लेखिएको छ। सो पत्रमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई पनि बोधार्थ गरिएको छ।

सो पत्र पठाइएको मिति (१० कात्तिक २०७२)मा एमाले अध्यक्ष केपी ओली पहिलो कार्यकालका लागि नेपालको प्रधानमन्त्री भएका थिए। उनी वि.सं. २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका थिए भने २५ गते पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए।

No photo description available.

अमेरिकी दुतावासलाई सो पत्र पठाउँदा मन्त्रीपरिषद् पूर्ण रुपमा विस्तार नभइसकेका कारण रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए। उनले कात्तिक १९ गतेमात्र रक्षा मन्त्री नियुक्त गरेका थिए।

नेपाली सेना स्रोतबाट प्राप्त सो पत्रमा एसपीपी सम्झौता कार्यान्वयन भएसँगै अमेरिकासँग सैन्य सहयोग आदानप्रदान गर्ने, सैन्य तालिम तथा सुरक्षालगायतका विषयमा सहकार्य गरिने उल्लेख छ।

प्रमुख प्रतिपक्षी दल एमालेले एसपीपी प्रकरणमा लगातार संसदमा कुरा उठाउँदै आएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले सम्झौता गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका थिए।

श्रोत: काठमाण्डु प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय