
काठमाडौँ, २ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ देखि कार्यान्वयनमा आएको बताएका छन् ।
२१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको दाबी गरे ।
‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानन्मन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउने भएको छ,’ उनले भने,‘कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्नु जरुरी छ ।’
अहिले एसपीपी हुँदै छ रे भनी हल्ला फिँजाइएको उनले बताए । उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबीसमेत गरे ।
‘हिजोआज एउटा प्रश्न– एसपीपी हुँदै छ रे, ल सैनिक सम्झौता हुँदै छ रे, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन विलकुल झुठो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।
एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यक्ष प्रचण्डले गरे । उनले स्पष्ट पार्दै भने,‘गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रि स्वाधिनता तथा नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’
अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन भएपछि प्रतिगमन परास्त भएको टिप्पणी गरे । ‘गठबन्धन गरेपछि प्रतिगमनको प्रवृत्ति परास्त भयो,’ उनले भने,‘भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, मैले प्रतिनिधिसभामा बोल्दा भनेको छु, यो निर्वाचनमा हाम्रो लागि र माओवादी केन्द्रको अध्यक्षको हैसियतले कुन पार्टीले कति जित्यो भन्ने ठुलो कुरा होइन ।’
गठबन्धनलाई अझ बलियो पार्ने र विकास र समृद्धिको नयाँ यात्राका लागि बढाउन जरुरी भएको बताए ।










