
जेठ ३० काठमाडौ – अर्थ मन्त्रालयले बजेटबारे आएकाे समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ती व्यक्त गरेको हाे। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने र पत्रकारिताको विश्वसनीयतामा समेत ह्रास आउने बताएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा “मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा माननीय अर्थ मन्त्री र मन्त्रालयलाई जोडेर तथ्यहिन समाचार संप्रेषण गरेको भन्दै खण्डन सहित विज्ञप्ति सार्वजनिक गरेकाे छ।
`आर्थिक ऐन मार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्वन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र रहेर निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरुको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरु प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ । आर्थिक वर्ष २०७९र८० को बजेट मूलतस् आयातमूखी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै सुदृढ अर्थतन्त्र निर्माणतर्फ निर्देशित रहेको र सो बमोजिम करका दरहरुमा केही संशोधन सहित प्रस्तावित आर्थिक विधेयक लगायतका बजेट सम्वद्व अन्य विधेयकहरु हाल संघीय संसदको दुवै सदनमा छलफलका क्रममा रहेको छ ।
परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीतातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ । मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण बिषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ।´प्रवक्ता,सहसचिव भुपाल बरालद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ।










