![]()
गोरखा — गोरखाको ११ वटै स्थानीय तहको मतगणना सकिएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार माओवादीले सबैभन्दा बढी ९ पालिका प्रमुख जित्यो । जनयुद्धको उद्गम थलो गोरखालाई मान्दै आएको माओवादी २०६४ देखि २०७० का बीचमा कमजोर बन्दै गएको थियो ।
अहिलेको निर्वाचन परिणामले माओवादी २०६४ मै अवस्थामा फर्किएको चर्चा सुरु भएको छ । २०७४ को नतिजा उल्टाएर माओवादीले गोरखामा आफ्नो प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ । २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस दुईमा सीमित बनेको छ, २ पालिका जितेको माओवादी ९ पालिका प्रमुख जितेर वर्चस्व जमाएको छ ।
चैत दोस्रो साता सत्तारुढ गठबन्धनका दलको केन्द्रले तल्लो तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेर ‘सर्कुलर’ गरेपछि स्थानीय स्तरमा राजनितिक दलको चुनावी प्रचार अभियान प्रभावित बन्यो । चुनावी तालमेलका लागि चैत १७ मा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा चारदलीय संयन्त्र बन्यो । गाउँमा चुनावी प्रचारको अभियानमा रहेका सत्तारुढ दलको उम्मेदवारका आकांक्षी पनि संयन्त्रको बैठकको निष्कर्ष कुरेर बसे ।
गठबन्धन दलबीच तालमेलका लागि झन्डै १० भन्दा बढी औपचारिक/अनौपचारिक छलफल चले । तर पालिका भागबन्डामा चार दलबीच कुरो मिलेन । २०७४ को निर्वाचनमा बहुमत पालिका जितेको कांग्रेस भागबन्डामा पनि हाबी भयो । संगठनका हिसाबले कांग्रेससँग समान रहेकाले ६ वटा पालिका पाउनुपर्ने माओवादीको अडान थियो । जनता समाजवादी पार्टी(जसपा) अन्त्यसम्म आइपुग्दा दुई पालिका प्रमुख दाबी प्रस्तुत गर्यो । २०७४ को निर्वाचनमा ९ पालिका प्रमुख जितेको कांग्रेस भागबन्डामा हाबी हुँदा कांग्रेसले दिएको संख्या लिनुपर्ने बाध्यतामा माओवादी थियो । संयन्त्र बैठकमा सुरुमा ६ पालिका दाबी गरेको माओवादीले अन्त्यसम्म आइपुग्दा चार पालिका प्रमुखमा झर्ने संकेत गरेको थियो । तालमेल भइहाले पनि ९ बाट २ पालिकासम्म झर्नेगरी आन्तरिक तयारीमा थियो । अन्त्यमा तालमेल हुन नसकेपछि सत्तारुढ दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भयो ।
वैशाख ३० को मतदान सकियो । मतगणनाको परिणाम सार्वजनिक हुँदै गर्दा एकल प्रतिस्पर्धामात्र उत्रिएको माओवादीले अपेक्षा गरेभन्दा बढी पालिका प्रमुखमा विजय हासिल गर्यो । मतदान सकिँदासम्म पनि चारदेखि पाँच पालिका प्रमुख जित्ने माओवादी जिल्ला स्तरीय नेताको आकलन थियो । तर मत परिणामले बहुमत पालिकाको रिजल्ट दिएपछि माओवादीका जिल्ला स्तरीय नेता चकित छन् । २०७४ को नजिता माओवादीले उल्टाएको छ । २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस २ मा खुम्चिएका छ ।










