काठमाडौं- सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनसम्म मिलेर जाने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तालमेलका लागि राप्रपाको शरण पुगेको छ ।अहिले पनि पहिलो शक्तिको रुपमा रहेको एमालेले गठबन्धनले असर पार्ने अवस्था देखेपछि यस्तो निर्णयमा पुगेको हो ।
हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवल शम्मशेर राणालाई भेटेका छन् ।
नेपालगञ्जको स्नेहा होटलमा हिजो राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।उनीहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा कुरा भएको स्रोतको दाबी छ ।यसरी हेर्दा एमालेलाई पनि निर्वाचनमा आफू पछि परिएला भनेर आशंका पैदा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन अयोगले त्यसको तयारी अन्तिम रुपमा लैजाँदै गर्दा राजनीतिक दलहरुले पनि आफ्नो दलको चुनावी सकृयता ह्वात्तै बढाएका छन् ।
विशेष गरी सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले चुनावी सकृयतालाई ह्वात्तै बढाएका हुन ।
अहिले गाउँस्तरमा दिनदिनै राजनीतिक चहलपहल भईरहेको छ । सत्तागठबन्धनमा रहेका दलहरुले तालमेल गर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक्लै स्थानीय निर्वाचनमा भाग लिने गरी चुनावी अभियान गरिरहेको छ ।
उसले अहिले कर्णली केन्द्रित अभियान शुरु गरेको त्यसकै लागि पार्टी अध्यक्ष केपी शर्मा ओली अभियान नै चलाएर कर्णाली पुगेका छन् । उनले पार्टीमा प्रवेश गराउँदै सत्तारुढ दललाई तर्साउदैछन् ।
उनको कार्यक्रम हेर्दा देशैभर एमालेबाहेक अरु दल नै छैन कि जस्तो भान पार्नेगरी कार्यक्रम गरिरहेका छन् भने प्रचारप्रसार पनि सोही अनुसारको गर्न लगाईरहेका छन् ।
यता सत्तारुढ दल भने अहिलेसम्म भागबण्डा मिलाउने मेसोमा लागिरहेका छन् । स्थानीय तहसम्मै गठबन्धन गरेर अगाडी बढ्ने निर्णय हिजोको गठबन्धनको बैठकले निर्णय गरेको छ ।
तर मोडालिटी अहिलेसम्म तयार भईसकेको छैन । मोडालिटी तयार भएपछि मात्र त्यसअनुसार गठबन्धनमा भाग लिने दलहरुले स्थानीय तहको सिट बाँडफाँड हुने अवस्था छ ।
तथापी गठबन्धनका दलहरुले पनि आफ्नो चुनावी सकृयता गाउँ तहसम्मै अभियानकै रुपमा चलाई रहेका छन् ।
मुख्यगरी महानगर पालिकामा सबै दलहरुको आँखा परिरहेका छ । र, सोही अनुसारको उम्मेदवारलाई प्रचारप्रसारमा ल्याउने काम पनि भईरहेको छ । उम्मेदवार हुन चाहने दलका नेताहरुले पनि आ-आफ्नो प्रचारप्रसार गरिरहेका छन् । अखबार नेपाल










