काठमाडौं- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुरमा थपलियालाई नेकपा एमालेनिकट कर्मचारीको रुपमा लान्छना लाग्ने गरेको छ । तर, एमाले भने निर्वाचन आयोगसँग सबैभन्दा धेरै त्रसित छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बारम्बार निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । एमाले–माओवादी एकतापछि बनेको नेकपा खारेज गर्न भूमिका खेलेको आरोप खेप्दै आएको निर्वाचन आयोग अहिले भने सत्ता पक्षलाई सहज हुने गरी गतिविधि गरेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आयोग सत्तारुढ दललाई सहज हुने गरी काम गरिरहेका आरोप लगाइरहेको छ ।
नेकपा एक हुँदा बहुमत सदस्यले तत्कालीन अध्यक्ष ओलीलाई गरेको कारवाहीलाई मान्यता नदिँदा निर्वाचन आयोगको उच्च पक्षपोषण गरेको एमाले अध्यक्ष ओली अहिले भने आयोगको खोइरो खन्न लागिपरेका छन् ।
ओली निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाएको सम्ममा विरोध गर्न पछि परेनन् । मतपत्रको रंग हरियो बनाएर आयोगले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखलाई प्रचार गरेको आरोप लगाए । ओलीको उक्त टिप्पणी सर्वथा हाँसोको विषय बनेको थियो । उक्त अभिव्यक्ति ट्रोल नै बनेपनि ओली पछि हटेनन् । आयोगले कांग्रेसको प्रचार गरेको नै भनिरहेका छन् ।
आइतबारबाट सुरु भएको एमालेको स्थायी कमिटी बैठकमा समेत ओलीले आयोगको आलोचना गरे । निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको ओलीको आरोप छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयन दुई दिन गर्ने, एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा लिन नसक्ने समेत चेतावनी दिए ।
निर्वाचन आयोगप्रति ओलीको आक्रोस– ‘हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ । मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रोविरुद्ध फैसला आएका छन् । राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छन् । अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । निर्वाचन आयोगले हामीलाई हेप्नुसम्म हेप्यो ।’
प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिगमनविरुद्ध बनेको दलीय मोर्चा सत्ता गठबन्धनमा परिणत हुँदा ओलीले सत्ता गुमाउनु परेको थियो । सोही गठबन्धनले एमालेलाई संघ र प्रदेशका सबै सरकारबाट अलग्यायो । त्यति मात्र नभएर पछिल्लो पटक भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा समेत एमालेले ठूलो क्षति व्यहोर्यो ।
स्थानीय तह निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धन कामय रहे ठूलो क्षति व्यहोर्नुपर्ने आंकलनका साथ ओली गठबन्धन भत्काउन लागिपरेको र निर्वाचन आयोगलाई समेत धम्क्याइरहेको गठबन्धनमा आवद्ध दलका नेताले आरोप लगाउने गरेको छन् ।










