काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) अहिलेकै अवस्थामा पारित नहुने बताएका छन् । उनले एमसीसी संशोधन नगरी पारित नहुने पनि प्रष्टिकरण दिएका छन् । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश कमिटिको बैठकलाई भचुअलमार्फत सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले एमसीसी लिनै नहुने नभनेको तर एमसीसीमा भएको केही प्रावधानहरु संशोधन भएपछि मात्रै लागू हुने बताए । उनले एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि बताए । प्रचण्डले कर्णालीका नेतालाई भने,‘एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने हल्ला गरिएको छ । अहिलेको गठबन्धन कमजोर रुपमा बनेको होइन । कसैले गठबन्धन टुटाउने प्रयत्न वा षड्यन्त्र गरे पनि कायम रहन्छ ।’ अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन जेठमा हुने भएकाले पहिलो शक्ति बन्नेगरी जनताको काम गर्न पनि निर्देशन दिएका छन् । उनले शहरकेन्द्री नभइ जनताकेन्द्रीत भएर काम गर्न निर्देशन दिएका हुन् ।










