काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियो आएपछि उद्धारका लागि पहल गर्नुभएको छ । उहाँले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले तत्कालै चासो दिएको हो। शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आयुस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो ।

राना लगायत ८ जना २५ महिना अघि न्यु वल्ड ओभर्जिस काठमाडौबाट साउदीको जेद्वा आएका थिए। उनी कार्यरत कम्पनीले इकमा पनि नदिएको कन्ट्र्याक्ट सकिदा समेत नेपाल पनि नपठाएकोले आठै जना काम छोडेर बसेका थिए। आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उहाँ रहेको स्थानमा गएर उहाँको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लग्नुभएको सुखद खबर आएको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसक्नुभएको छ भने अन्य छ जना मंगलवार नेपाल फर्कने तयारीमा हुनुहुन्छ । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।  उहाँ बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय