
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी भित्र एकलौटी गरेको भन्दै महोत्तरी र धनुषाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा तालाबन्दीको तयारी गरेका छन् । पार्टीको निर्णय र प्रक्रिया एकात्मक भएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरु आइतबार धर्नामा बसेकाे पार्टीका नेता संजयकुमार चौधरीले जानकारी गराएका छन् । यस्तो कदमलाई तत्काल नसच्याए कार्यालयमा तालाबन्दी गर्नुका साथै थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेता चौधरीले बताए । नेता चौधरीले भने, ‘न पार्टीको बैठक भयो न त कुनै निर्णय नै तर पार्टी अध्यक्षले एकलौटी रुपमा जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र प्रदेश सचिव मनोनयन गरेका छन् । जुन सरासर अबैधानिक रहेको छ । त्यसलाई तत्काल सच्याउनका लागि हामि आन्दोलनमा होमिएका छौं ।’
पार्टीमा सामुहिक नेतृत्व गर्नुपर्ने प्रावधान हुँदा–हुँदै अध्यक्षले नेतृत्व चयन गरिरहँदा एकलौटी गरेको नेता चौधरीको आरोप छ । विधान सम्म्त पार्टीको कार्यकारिणी समिति ३१ सदस्यी रहेको बताउदै उनले भने, ‘समितीको बैठक समेत बसेन । तसर्थ हामि यस प्रकारको एकात्मक शासन प्रणालिको घोर भर्त्सना गर्दछौं । विधि, प्रक्रिया र सामुहिक निर्णयबाट पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग हो । पार्टीको नाम लोकतान्त्रिक राखेर हुन्न, पार्टीका कामकारबाही पनि लोकतान्त्रिक हुनुपर्छ ।’
सम्पुर्ण वर्ग र समुदायलाई समावेशी हुनेगरीको सामुहिक प्रतिनिधित्व चयन हुनुपर्ने नेता चौधरीकाे माग छ । उनले भने, ‘कुनै पक्षको आन्दोलन होइन, पार्टीमा देखिएको विकृति विरुद्धको आन्दोलन हो, र पार्टि कार्यालयमा पुर्व जानकारी गराएर हामिहरु धर्नामा बसेका छौं ।’ पार्टी अध्यक्षले एकलौटी मनोनयन गर्दै पार्टी भित्र अराजकता फैलाएको नेता चौधरीले बताए ।
अध्यक्ष ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेपछि जनकपुरमा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले तत्कालै विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।
जसपामा पनि एकलौटी
जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीमा एकलौटी गर्दै आएको पार्टी स्रोतले जनाएको छ । हैकमवादी र अहंकार प्रवृत्तिले पार्टीप्रति सँकुचित विचार राख्ने अध्यक्ष यादवले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेकोले पार्टीमा अराजकता निम्तिने स्रोतले ठोकुवा गरेको छ ।
पार्टी भित्र एकल ढंगबाट भइरहेको क्रियाकलापहरु गैरजिम्मेवार र अबैधानिक रहेको छ । स्रोत भन्छ, पार्टीमा ठुलो आन्तरिक द्वन्द्व निम्त्याउन अध्यक्ष यादव लागिपरेको छ । पार्टी अब ठुलो दुर्घटनामा पर्ने निश्चित रहेको स्रोत बताउँछ । पार्टी अध्यक्ष यादवले पार्टी भित्र गुट उपगुटको राजनीति सृजना गरेकोले लोसपा जस्तै जसपाको पार्टी कार्यालयमा पनि तालाबन्दी नहोला भन्न नसिके स्रोतले जनाएको छ ।