
काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि तय गरेको छ । पहिलो राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । कुन क्षेत्रबाट कति प्रतिनिधि सहभागी गराउने तोकिएको उनले जानकारी दिए ।
सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेशबाट ८०३ प्रतिनिधिको सहभागिता रहनेछ ।
यस बाहेक सशस्त्र द्वन्द्वका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्व लडाकूका तर्फबाट पाँच प्रतिशत अर्थात् ७३ जना प्रतिनिधि मनोनीत गरिने माओवादीले जनाएको छ ।
प्रदेशबाट सहभागी हुने प्रतिनिधिमा सबैभन्दा बढी बागमतीबाट छन् । बागमती प्रदेशबाट १२८ प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
यसै गरी, प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७ र सुदूरपश्चिमबाट ८४ प्रतिनिधिले राष्ट्रिय सम्मेलनमा मतदान गर्न पाउनेछन् । माओवादीले सम्पर्क समन्वय प्रदेशबाट ४३, उपत्यका विशेष प्रदेशबाट ४२ र प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुने व्यवस्था गरेको छ ।
माओवादीको राष्ट्रिय सम्मेलन ११–१३ पुसमा काठमाडौंमा हुने तय भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा वैचारिक प्रतिवेदन पेश गर्ने भएका छन् । माओवादीको राष्ट्रिय सम्मेलनले नेतृत्व पनि चयन गर्नेछ ।