राजेन्द्र महतो- लहान पुस ७ गते।सिरहा गोलबजार नगरपालिका ६ डोहटिया छुरा प्रहारबाट हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार–२ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं. ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको छ ।
पक्राउ परेकामध्ये २ जना गोलबजार र ३ जनालाई धनगढीमाई नपा जयपुरमा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए । पक्राउ परेकाहरुलाई आजै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
शनिवार बेलुका बजार गरेर घर फर्किने क्रममा युवाहरुबीच सामान्य विवादको क्रममा छुरा हानाहान हुँदा गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय निकेश सदा घाइते भएको थियो ।








