
मङ्सिर ३ , काठमाडौँ :- नेकपा माओवादी केन्द्रले देशभरका सबै वडामा एकैसाथ वडा सम्मेलन गरी नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
माओवादी केन्द्रले मंसिर ४ गते शनिबार देशभरका ६ हजार ७ सय ४३ वडामा एकै पटक वडा अधिवेशन गर्न लागेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।
राष्ट्रिय सम्मेलनको तीव्र तयारी भइरहेको र निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले बताएका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म हुने कार्यतालिका रहेको छ । माओवादी केन्द्रमा हाल करिब ८ लाख संगठित सदस्य रहेको बताइएको छ ।