लेटाङ। लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न प्रथम सुकेचौरी नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि ब्रदर्स कलेक्सन केराबारीले जितेको छ।

बुधबार सम्पन्न फाइनल खेलमा सुकेचौरी फुटबल टिमसँग निर्धारित ९० मिनेटमा २–२ गोलको रोमाञ्चक बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै केराबारीले जित सुनिश्चित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

उपाधिसँगै ब्रदर्स कलेक्सन केराबारीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक सुकेचौरी फुटबल टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ।

फाइनल खेलको अवसरमा प्रमुख अतिथिका रूपमा शंकर राई, अतिथिहरू रामकुमार श्रेष्ठ, जंगबीर तामाङ, हरि प्रसाद धिमाल, श्री प्रसाद ढकाल र सोमनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो।

फाइनल खेलमा ब्रदर्स कलेक्सनका गोलकिपर ओजस्वी लिम्बू म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा बेस्ट गोलकिपर आयोजक टिमका आयुस लिम्बू (योङहाङ), बेस्ट डिफेन्डर ब्रदर्स कलेक्सनका रमेश राजवंशी, बेस्ट मिडफिल्डर आयोजकका प्रबिन राई, बेस्ट फरवार्ड तथा सर्वाधिक गोलकर्ता आयोजकका ओसियन राई घोषित भए।

त्यसैगरी आयोजक टिमका खगेन्द्र लिम्बू राइजिङ प्लेयर तथा इसान्त कोइराला सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलप्रति उत्साह बढाउनुका साथै खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय