लेटाङ, माघ ४ गते । वर्षौंदेखि धुलोको मार खेप्दै आएका लेटाङ–३ कीर्तिमान र बेलबारी भाउन्नेका स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै कीर्तिमान–भाउन्ने सडक खण्डलाई कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउन लेटाङ र बेलबारी नगरपालिकाबीच सहमति भएको छ। दुवै नगरपालिकाका नगरप्रमुखहरूले आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न बजेट छुट्याइने प्रतिबद्धता जनाएका छन्।

लेटाङ नगरपालिका वडा नं. ३ स्थित कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणमा आयोजित वृहत् छलफल कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावती र बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राई सहभागी भई स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रममा सडकको दुरावस्थाका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गर्दै स्थानीयले तत्काल समाधानको माग राखेका थिए। छलफलमा सहभागी उपभोक्ताहरूले क्रसर उद्योगका टिपरहरू अनियन्त्रित रूपमा गुड्दा कीर्तिमान र भाउन्ने क्षेत्र पूरै धुलाम्य बनेको बताए। धुलोका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई समस्या भएको र सडक छेउका बोटबिरुवा तथा बालीनाली समेत नष्ट हुँदै गएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष गगा बहादुर याखाले आफ्नो अघिल्लो कार्यकालमै क्रसर कम्पनीसँग सडक कालोपत्रेका लागि लिखित सम्झौता भए पनि कार्यान्वयन हुन नसकेको जानकारी दिनुभयो। उहाँले आफू जनप्रतिनिधि मात्र नभई सोही क्षेत्रको स्थानीय बासिन्दा भएको भन्दै टिपर सञ्चालनले बस्तीमा पारेको असर राम्रोसँग बुझेको बताउनुभयो। यसअघि अघिल्लो वडाअध्यक्ष देवराज चाम्लिङसँग समेत सडक कालोपत्रेबारे छलफल भएको स्मरण गर्दै उहाँले गरिएको सम्झौता किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो। तत्कालीन नगरप्रमुख शंकर राईको कार्यकालमै डिपिआरको नाममा कर्मचारीहरूले आफूहरूलाई झुक्याएको भन्दै केही स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए।

कालोपत्रेका लागि लेटाङ–३ वडा र क्रसर कम्पनीबीच सहमति भए पनि उक्त सहमतिको कागज जनप्रतिनिधिले नै लुकाएर राख्दा लामो समयसम्म काम अघि बढ्न नसकेको सहजीकरण समितिका संयोजक कृष्ण काफ्लेले आरोप लगाउनुभयो। उहाँका अनुसार सम्झौता हुँदाहुँदै पनि बजेट सुनिश्चितता नहुँदा सडक अलपत्र परेको हो।
कीर्तिमान–भाउन्ने सडकको डिपिआर भए पनि लामो समयसम्म बजेटको सुनिश्चितता नभएको भन्दै कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहले १५ दिनअघि लेटाङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको थियो। सोही पत्रको आधारमा दुवै नगरपालिकाका प्रमुख र स्थानीय उपभोक्ताबीच संवाद कार्यक्रम आयोजना गरिएको हो।
छलफलमा स्थानीयले खोला ठेक्का प्रक्रियामा समेत प्रश्न उठाए। “हाम्रै क्षेत्रको प्राकृतिक स्रोत प्रयोग गरेर दुवै पालिकाले राजस्व संकलन गरिरहेका छन्, तर हाम्रै सडक कालोपत्रे र ग्राभेलसम्म हुँदैन,” एक सहभागीले भने, “यदि सडक निर्माण नगर्ने हो भने हामी खोला उत्खननमा पूर्ण रोक लगाउन बाध्य हुनेछौँ।”

यस विषयमा प्रतिक्रिया दिँदै बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले सडकको अवस्थाले कीर्तिमान मात्र नभई भाउन्ने बेलबारीका जनता समेत आजित भएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, “हामी जनभावनाप्रति गम्भीर छौँ। आगामी आर्थिक वर्षमा सडकको DPR तयार गर्न बजेट विनियोजन गरिनेछ र प्रदेश सरकारको योजना कार्यालयमा थप बजेटका लागि पहल गरिनेछ।” त्यस्तै, लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावतीले डिपिआर नभएकै कारण अहिलेसम्म ठोस बजेट जुटाउन कठिन भएको बताउनुभयो। उहाँले अब तत्कालै डिपिआर प्रक्रिया सुरु गरी कालोपत्रेका लागि आवश्यक समन्वय र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लेटाङ–३ का वडाअध्यक्ष डम्बरबहादुर राईले लेटाङ र बेलबारीबीचको व्यापारिक सम्बन्ध मजबुत बनाउन यो सडक मेरुदण्ड भएको बताउनुभयो। लेटाङ–३ र बेलबारी–१० को सिमाना जोड्ने यस सडकलाई कालोपत्रे गर्न आफूले लामो समयदेखि संघर्ष गर्दै आएको र वडा तहबाट पूर्ण पहल जारी राख्ने उहाँको भनाइ थियो।
स्थानीयहरूको निरन्तर दबाब र दुवै नगरपालिकाको सक्रियतापछि कीर्तिमान–भाउन्ने सडकले चाँडै नयाँ स्वरूप पाउने आशा पलाएको छ। अब डिपिआर, बजेट सुनिश्चितता र कार्यान्वयनमा देखिने तत्परताले वर्षौंदेखिको समस्या समाधान हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय