देशको बिभिन्न स्थानहरुमा यतिखेर स्थानीय तहको उपनिर्वाचनको सरगर्मी भैरहेको बेला सबै दलहरुले अ-आफ्नो केन्द्रीय प्रतिस्पर्धाको स्थल कीर्तिपुरलाई बनाएका छन् । उपनिर्वाचन हुने पालिकाहरु मध्ये किर्तिपुर राजनीतिको केन्द्रमा उभिएको छ ।
प्रचारप्रसार अन्तर्गत सबै राजनीतिक दलहरुले कीर्तिपुरमा केन्द्रीय स्तरकै सभाहरु समेत गरे । दलहरुको आयोजित सभामा सिनियर नेताहरु नै उपस्थित भएपछी यो उपनिर्वाचन अब केवल निर्वाचनको औपोचारिकतामा मात्रै सिमित रहेन । यो उपनिर्वाचानले दलहरुको जनाआधार र प्रतिस्पर्धी हैसियत समेत निर्धारण गर्ने हुदा किर्तिपुर निर्णायक हुन् पुगेको छ ।
राजनीतिमा नीति , एजेन्डा , कार्यक्रम अन्तर्गत राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर नेपालको राजनीतिमा राजनीतिक प्रतिस्पर्धा नीति , एजेन्डा र कार्यक्रमहरुमा भन्दा बढी हावादारी गफ कसले बढी गर्ने भन्नेमा प्रतिस्पर्धा हुनु अत्यन्तै दुखद प्रचलन छ ।
द डार्क गफको पहिलो समय :
महाकाली सन्धि सम्बन्धमा नेपाललाई धेरै फाइदा हुने भनेर कांग्रेसले दिएको गफ र बार्षिक २ अर्ब नेपाल भित्रिने भनेर एमालेले दिएको गफ । यो दुवै गफलाई पारित गर्दै शेर बहादुर देउवाको प्रधानमन्त्रीत्व सरकारले गरेको महाकाली सन्धि पहिलो द डार्क गफ थियो ।
दोस्रो डार्क गफ :
राजतन्त्रको अन्त्य संगै नेपाललाई सिंगापुर र सुइटजरल्याण्ड बनाउने भनेर तत्कालिन माओवादीले दिएको गफ र काँग्रेस , एमाले सहितका दलहरुले देशलाई स्वर्ग बनाउछु भनेर दिएको गफ मूलतः नेपाली राजनीतिमा सबैभन्दा डार्क गफ हो यो । यस्ता गफहरु थुप्रै छन् । यति बर्षमा देशलाई यस्तो बनाउछु , उति बर्षमा त्यस्तो बनाउछु भनेर दिएका गफहरु त कति छन् कति । आफ्नो राजनीतिक सिदान्त , मूल्य , मान्यताहरु बिरुद्द गठबन्धन गर्दै दिएका गफहरु त झन् कति छन् कति ।
घर-घरमा ग्यास ,चुल्हा-चुल्हामा पाइपलाइन भनेर दिएको गफ त अस्ति भर्खरै हो ! झन् काठमाडौं-पोखरा- केरुंग सम्मको रेल अनि यहि पारीपट्टी कुस्मा मा रेल स्टेसनको गफ झन् भैंकर रुपको गफ थियो । अझ नेपालको झण्डा फहराउदै पानि जाहाज चलाएर समुन्द्रनै कब्जा गर्ने गफलाइ बिर्सनै सकिदैन। केपी बा” ले अन्तरिक्षमा समेत झन्डै एमालेको मान्छे पुर्याईसक्नु भएको गफ कसरि बिर्सनु । काँग्रेस-माओवादी-एमालेको घोषणा पत्र मार्फत हरेक १० बर्षमा १० हजार जनालाई रोजगारी दिन्छु भनेको गफ त झन बिर्सने कुरै भएन । यस्तै गफहरुलाई निरन्तरता दिदै अस्ति मात्रै कीर्तिपुरमा कांग्रेसका महामन्त्री गगन दाइले पनि खतरा गफ दिनुभयो ।
गगन दाइको गफ लगनको बेला हगन जस्तो :
हगन शब्द झट्ट स्वाभाविक नलाग्न सक्छ । अमर्यादित शब्द पनि लाग्ला तर “लगनको बेला हगन” यो एउटा बहुतै प्रयोग हुने व्यावहारिक काहावत अर्थात भनाइ छ । विवाहको मण्डपमा श्राद गर्न खोजियो भने त्यसलाई लगनको बेला हगन भनेर अर्थ्याउने गरिन्छ । वा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर पनि भनिन्छ । गगन दाइको कुरा त्यस्तै छ । लगन एउटा छ तर गगन दाइको कुरा अर्को छ । काम एउटा छ, कुरा अर्को छ । बिषय एउटा छ, प्रचार अर्को छ ! स्थानीय तहको निर्वाचनमा स्थानीय कुराहरु नै नगरेर गगन दाइले निकै अपत्यारिला केन्द्रीय गफ किन दिएको होला ?
नगरको फुटपाथ बनाउने कुरा, फोहोर व्यवस्थापनका कुरा , ढल निकासीका कुरा , बाढी नियन्त्रका कुरा , नगर भित्र स्थानीय रोजगारीका कुरा , स्थानीय स्वास्थ्य शिक्षाका कुरा ,स्थानीय कला संस्कृतिलाई प्रवर्दन गर्ने कुरा, नगर भित्र स्कलरसिपका कुरा , बालमैत्रीका कुरा , अपांगमैत्रीका कुरा , जेष्ठ नागरिकमैत्रीका कुरा यतै स्थानीय सरोकारका मैत्रीपूर्ण कुराहरु नै स्थानीय तह निर्वाचनको प्रमुख कुराहरु हुन् ।
यस्ता कुराहरु नगरेर महिनाको ३-४ लाख कमाउन डाँडामा ल्यापटप लाने कुरा अर्थहीन अनावश्यक भएन गगन दाइ ? अनि यस्ता कुराहरु गर्दै गर्दा लगनको बेला हगन जस्तै हैनर गगन दाइ ? स्थानीय तहले सफ्टवेयर कम्पनि खोल्ने पनि होइन , पालिकाले पालिका मार्फत अनलाइन ब्यापार गर्ने पनि होइन । अनि डाँडामा ल्यापटपको प्रसंग मेयर पदको चुनाव सभामा कसरि मिल्यो ?
गगन दाइले भने जस्तै डाँडामा बसेर ल्यापटप चलाउदै महिनाको ३-४ लाख कमाउने कुरा “आइटी र पर्यटन क्षेत्र हो ? अब एउटा नगरपालिकाको मेयर जित्नु र नाजित्नुले किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउनु पर्ने वा त्यहि डाँडामा बसेर ल्यापटप चलायो भने कमाइ हुने तपाइको तर्क अनुसारको कुरा निर्धारण हुने यो कस्तो तर्कको गफ हो ?
देशभरी काँग्रेसकै मेयर रहेका पालिकाहरु कतिवटा छन् ? मानौ १० वटा मात्रै रहेछन भनेपनि काँग्रेसले मेयरमा जितेको पालिकाको युवाहरु कतार , मलेसिया , इजरायल जान छोडेर काँग्रेसकै डाँडामा बसेर ल्यापटप चलाउदै अहिले सम्म जितेका हरेक पालिकाको डाँडाबाट कतिको संख्यामा युवाहरुले ल्यापटप चलाउने रोजगारी पाएका छन ? गगन दाइ संग यसको रेकर्ड छ ?
काँग्रेसले जितेका पालिकाहरुमा महिनाको ३-४ लाख कमाउने युवाहरुको संख्या कति छ ? अथवा गगन दाइ संग ल्यापटप चलाएर महिनाको ३-४ लाख कमाइ हुने यति बिघ्न टिप्स रहेछ त, गगन दाइले आफ्नै निर्वाचन क्षेत्र कपनका युवाहरुलाई किन विदेश जान बाध्य पार्नु भयो ?
म आफै पनि काँग्रेसले जितेको पालिका इनरुवा पालिकाको मतदाता छु , मेरो पालिकाको डांडामा दिनभरी बसेर ल्यापटप चलाउदै महिनाको ३-४ लाख कमाइ हुने वातावरण अहिले सम्म प्राप्त भएको छैन । मलाइ यो वातावरण प्राप्त नहुनुको एकमात्र कारण भनेको म त्यसको लागि योग्य छैन । किनभने ल्यापटप चलाएर महिनाको ३-४ लाख कमाइ गर्न सक्ने योग्यता पुग्नेगरी मैले त्यस प्रकारको शिक्षा आर्जन गरेको छैन ।
मैले यो कुरा किन भन्दै छु भने गगन दाइले कीर्तिपुरका सोझा र हल्का मात्रै साक्षरता भएका र हल्का साक्षरता नभएका मतदातालाई भ्रम छरेर बेकुब बनाउदै हुनुहुन्छ । किनभने ल्यापटप चलाएर महिनाको ३-४ लाख आर्जन गर्न इन्टरनेट र ल्यापटपलाइ प्रयोग गर्दै हार्डवेयर र सफ्टवेयर सम्बन्धि सम्पूर्ण ज्ञान बटुलेर ल्यापटपबाट गर्न सकिंने सबै कुराहरुमा पोख्त भएपछी मात्रै महिनाको ३-४ लाख कमाउन संभव हुन्छ । अझ भन्नुपर्दा कम्युटर इन्जीनियर वा सफ्टवेयर इन्जीनियर योग्यता भएकाहरुले चैं गगन दाइले भने जस्तै रकम कमाउन संभव हुन्छ । अथवा आइटी कोर्स गरेर योग्य भएकाहरुले कमाउन सक्छन । योग्य मानिसहरुले स्वतःह कमाइरहेकै छन् ।
अब भन्नुस् गगन दाइ तपाइको कुरा स्थानीय निर्वाचनको प्रक्रिया र मेयर पद संग मिल्छ ? एउटा मेयर पदले वा पालिकाले महिनाको ३-४ लाख कमाइ हुने व्यवस्था हरेक पालिकाको डांडाहरुमा गर्न सक्छ ? सक्दै नसक्ने र स्थानीय निर्वाचन संग सम्बन्ध नै नरहेको झुठ कुरा गरेर एउटा मेयर पद जित्नको लागि मतदाता झुक्याउदै मत माग्ने यो हदको प्रचार शैली हजम नै भएन ।
नेपालले सबै भन्दा बढी बैदेशिक मुद्रा कमाउने भनेको आइटी सेवाबाट हो, त्यसपछि पर्यटन हो ! यस क्षेत्रमा काम गरिरहेकाहरुले कमाइरहेकै छन् । अनि यो प्रसंग एउटा पालिकाको मेयर निर्वाचन संग कसरि जोडिन्छ ?
यदि कीर्तिपुरको मेयर पद काँग्रेसले जितेमा मात्रै गगन दाइले भने जस्तै कमाइ हुने हो भने, काँग्रेसले नै जितेका अन्य पालिकाहरुको डाँडामा बसेर युवाहरुले ल्यापटप चलाउन छोडेर कतार , मलेसिया, इजरायल किन गएका होलान ? यसको जवाफ पनि त दिनुपर्यो गगन दाइ ।
ल्यापटप चलाएर त्यस किसिमको आय आर्जन गर्न सक्ने योग्य जनसंख्या नेपालमा कति छ ? मानौ १० लाख छ । १० लाख योग्य संख्यालाई ल्यापटपबाट कमाउन गगन दाइ वा कांग्रेसले सिकाइरहनु पर्छर ? अनि ल्यापटपबाट कमाउनको लागि कांग्रेसको गगन दाइ तपाइको गफ आवश्यक पर्छर ? कम्युटर /ल्यापटप चलाएर कमाउने धेरै माध्यमहरु छन् जसबारे कांग्रेसले एउटा चुनावी सभामा गएर बोल्नै पर्दैन ।
जानकार मानिसहरुले उसैपनि ल्यापटप चलाएर कमाएकै छन् । कमाउन सक्ने जनशक्ति कतार , मलेसिया, इजरायल जादैनन् , उनीहरु देशमै बस्छन, वा बिदेश नै गएपनि अस्ट्रेलिया , अमेरिका जस्ता देशहरुको सफ्टवेयर कम्पनीहरु वा अन्य कम्पनीहरुमा जान्छन । मध्यम र निम्न वर्गका मानिसहरुको लागि ल्यापटप चलाएर ३-४ लाख कमाउने कुरा उनीहरुको बुताले नै भ्याउदैन अनि कतार , मलेसिया , इजरायल नगएर कहाँ जाने ?
गगन दाइ तपाइँले भने जस्तो कुरा चै अबको शैक्षिक-सत्रबाट कक्षा एक देखिनै कम्प्युटर चलाउन सक्ने सम्पूर्ण कोर्सहरु अनिवार्य गरेर प्लस टु सम्म पुग्दा ल्यापटप चलाएर महिनाको ३-४ लाख कमाउन सक्ने दक्ष जनशक्ति उत्पादनमा काम गरेर देखाउनु होला ।
देश आर्थिक मन्दीको भयावह अवस्थामा छ , कांग्रेसले नै जितेका पालिकाहरु अव्यवस्थित छन , काँग्रेसकै पालिकाहरुमा बेरोजगारीको काहाली लाग्दो अवस्था छ । व्यापारीहरुले अघिल्लो आर्थिक बर्षकै भुक्तानी पाएका छैनन् । त्यहि काँग्रेसको महामन्त्री गगन दाइ तपाइँ एउटा पालिकाको मेयर निर्वाचन सभामा गएर हावादारी गफ दिदै हुनुहुन्छ ?
गगन दाइ तपाइँ भन्दा लाखौ गुणा योग्यता भएको धरान मेयर हर्क सम्पांग ,काठमाडौं मेयर बालेन , गोपाल हमाल , ललितपुर मेयर चिरबाबू महर्जन , भरतपुर मेयर रेणु दाहाल जस्ता मेयरहरुले समेत तपाइले जस्तो गफ दिन सकेका छैनन भने तपाइले कसरि दुस्साहस गर्नुभो ? यदि तपाइले भने जस्तै डाँडामा बसेर ल्यापटप चलाउदै महिनाको ३-४ लाख कमाउन मेयर पद जित्नै पर्ने बाध्यता भएको हो भने उल्लेखित मेयरहरु तथा तपाइकै मेयरहरूले तपाइले भने जस्तै आ-आफ्ना डाँडाहरुमा त्यस्तो व्यवस्था किन नगरेका होलान ?
गगन दाइ तपाइको गफ – गफ नहोला तर स्थानीय निर्वाण प्रचारमा तपाइले प्रयोग गर्नुभएको गफ चैं गफै हो । महिनाको ३-४ लाख कमाउने योजनाको गफ त प्रतिनिधिनी सभाको निर्वाचन अन्तर्गत रास्ट्रीय रुपमा दिनुपर्ने गफलाई स्थानीय तहको निर्वाचनमा प्रयोग गरेर कीर्तिपुरमा भेडा किन्न खोज्नु भएको हो भने गगन दाइ तपाइको भेडा खरिदको यो सुत्रले काम गर्दैन । गगन दाइ पहिले जस्तो अब नेपालमा भेडा पाउन मुस्किल छ ।
तपाइँ पुराना दल नेताहरुले यति सम्म छल गरिसक्नु भयो कि अब तपाइँहरुले राम्रै कुरा गरेपनि पत्याउने स्थिति छैन । त्यसमाथि किर्तिपुर मान्छे बस्ने नगर हो । गगन दाइ कीर्तिपुरमा भेडा पाइदैन है ।