काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् ।

उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले वर्तमान सरकारलाई निशर्त सहयोग गर्ने सोच बनाएको बताए ।

उनले भने,‘हामी यो सरकारलाई निश्वार्थ सहयोग गर्छौं । हामी सरकार बाहिर बसेर वा सरकारमै गएर भएपनि सहयोग गर्न तयार छौं । प्रधानमन्त्री प्रचण्ड ढुक्क हुनुहुन्छ ।’ उनले सरकारमा जाँदा आफूहरुले मन्त्रालयको बार्गेनिङ नगर्ने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले जुन मन्त्रालय दिएपनि बसेर काम गर्न तयार छौं । उहाँ अब पाँच वर्षको प्रधानमन्त्री हो ।’

सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला कांग्रेस शीर्ष नेताबाट यस्तो कुरा आएको हो । यसले पनि के देखाउँछ भने अब प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने मनशायमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने उनको अडान यही उद्देश्यमा निहित रहेको कांग्रेस नेताहरुको पनि बुझाई छ ।

आजमात्रै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, दाहालले भने अहिले गृहमन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका थिए । दाहाल भने अहिले पार्टी पदाधिकारीको बैठकमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय