पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए ।
“यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भने, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।” उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए। अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमानै प्रवेश गर्न सांसदहरुलाई निर्देशन समेत दिए ।
एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए । “हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने ।
उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए । उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरेका छन् ।










