
काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाअभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बुधबार (आज) बयान लिने भएको छ । महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा बिहान ११ बजे संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा उनीसँग सोधपुछ गर्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
जबरासँग बयान लिनुअघि समितिका सदस्य बसेर आन्तरिक परामर्श गर्ने तयारी छ । सचिव गौतमका अनुसार नेपाल र सर्वोच्च बार, पूर्वन्यायाधीश फोरम, कानुन व्यवसायीहरूका संगठन र व्यक्तिगत रूपमा दस्ताबेज तथा प्रमाण आएका छन् । ती प्रमाणलाई एकत्रित गरेर समिति सदस्यलाई वितरण गरिएको छ ।
जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । जसमा संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोध गरेकोलगायत विषय समेटिएको छ । समितिमा सदस्यहरूले सोधेको प्रश्नमा जबराले पर्याप्त समय लगाएर जवाफ दिन पाउनेछन् ।
सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादीबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन् ।
पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै जबराविरुद्ध १ फागुनमा महाभियोग दर्ता भएको थियो ।