 
							काठमाडौं – नेकपा (माओवादी केन्द्रले) कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले हाल कायम रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।
उनीहरुका ठाउँमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारी भएको छ । उनीहरुले कुन–कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषयमा निर्णय भइसकेको छैन ।
कर्णाली प्रदेशसभामा माओवादीका जम्मा ११ सांसदमध्ये यी दुईजना मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीका अनुसार समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित उनीहरुलाई फिर्ता बोलाएको हो ।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								