काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यसअघि झैं झापा निर्वाचन क्षेत्र नं. ५ बाटै चुनाव लड्ने तयारीमा छन् । चुनावी माहोल बनाउनकै निम्ति ओलीको झापा दौडाहा बाक्लिएको छ ।
२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट विजयी ओलीले प्रतिद्वन्द्वीले भन्दा २८ हजार ८४२ बढी ल्याएका थिए । तत्कालिन समय ५७ हजार १३९ मत ल्याएर ओली विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।
तर, यसपटकको चुनाव ओलीका निम्ति सहज देखिँदैन । स्थानीय तहको निर्वाचनमा ओलीको क्षेत्र नं. ५ अन्तर्गतका चार स्थानीय तहमध्ये एक स्थानीय तहको नेतृत्वमा मात्रै एमाले विजयी भएको थियो । गठबन्धन बन्दा एमाले ओलीकै गृहपालिका दमक नगरपालिकामा पनि हारेको थियो ।
गठबन्धन बने मुस्किल
पाँच दलीय सत्ता गठबन्धन प्रतिनिधि सभा र प्रदेशसभामा एकमुष्ट गठबन्धन बनाएर चुनाव लड्ने तयारीमा छन् । झापामा पनि दलहरुले गठबन्धन बनाएरै चुनाव लड्ने तयारी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका चार मध्ये एक पालिकामा मात्रै एमालेले नेतृत्व जितेको थियो । क्षेत्र नं. ५ अन्तर्गतका कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकामा एमालेले हार व्यहोरेको थियो । एमालेले चारमध्ये गौरादह नगरपालिकाको नेतृत्व मात्रै जितेको थियो ।
०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा गएका थिए । तत्कालिन समय ओलीले ल्याएको मत एमाले एक्लैको नभई वाम गठबन्धनको समेत मत थियो । तर, अहिले पाँच दलीय गठबन्धन एकातिर र विभाजित एमाले अर्कोतिर छ । जसको असर अध्यक्ष ओलीलाई चुनावी मैदानमा पर्ने निश्चित छ ।
एमालेबाट विभाजित बनेर गठन भएको एकीकृत समाजवादीको संगठन पनि झापामा राम्रै देखिन्छ । जसले स्थानीय तहको निर्वाचनमा केही वडाहरुको नेतृत्वसमेत जितेको थियो ।








