तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपश्चात आसन्न प्रतिनिधि सभा निर्वाचनमा कम्यनिष्टहरु एक भएर चुनावी माहोलमा हुमिएलान् त ? भन्ने प्रश्नले अहिले माहोल तताएको विषय छ । तर, तत्कालै भने यो सम्भव देखिएको अवस्था भने छैन ।
गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावी तालमेलमा छिरेका दलहरु अहिले प्रतिनिधि सभा निर्वाचनमा बोली फेर्दै आइरहेका छन् । यता, नेपाल राष्ट्रिय अभियानका संयोजक समेत रहेका वामेदव गौतम कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याएर आफू प्रधानमन्त्री बन्ने होडबाजीमा दौडिरहेका छन् । तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किएर विभाजन भएको नेकपालाई ब्युताइने भन्दै कम्युनिस्ट पार्टीलाई ध्रुवीकरण गराएर जनमत एकत्रित गर्ने उद्देश्यमा गौतम लागिपरेका छन् ।
कम्युनिस्टबीच मेलमिलाप नभए नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने चिन्तामा छट्पट्एिका गौतम पार्टी एकता वा चुनावी तालमेलका लागि भन्दै एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एस अध्यक्ष नेपाल लगायतलाई भेटघाट गरिसके । बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उपनिर्वाचन वा राष्ट्रियसभा सदस्यमार्फत प्रधानमन्त्री बन्ने उपायको खोजी गरेका गौतम हालसम्म पनि सफल हुन सकेका छैनन् ।
कम्युनिस्ट आन्दोलन धरासायी भएको बेला चुप लागेर बस्नुहुन्न भनेर नयाँ अभियान थालेका गौतमलाई प्रधानमन्त्रीको सिट अप्ठ्यारोमा फलेको फल बन्न पुगेको छ । अर्थात भनैं,आगामी चुनावमा कम्युनिस्टलाई नमिलाई गौतम प्रधानमन्त्री बन्ने सम्भावना छैन ।
उसो त नेपाली कांग्रससँगको स्थानीय तह चुनावी तालमेलमा अन्र्तरघात भएको भन्दै माओवादी र समाजवादीले गौतमलाई मिलेर जाने विषय सकारात्म रहेको बताउँदै आएताका छन् तर कार्यान्वयनमा भने सत्तरुढ गठबन्धन आसन्न प्रतिनिधिसभा निर्वाचनसम्म नै कायम गरेर लैजानेमा देखिन्छ । कम्युनिस्टबीच ध्रुवीकरण नभएको अवस्थामा गौतम सांसद बन्न कुन कित्तामा उभिएलान् ? त्यो भने हेर्न बाँकी नै छ । तर, तत्कालै कम्युनिष्ट एकताको बन्धनमा बाँधिएर गइहाल्ने नतिजा भने कुनै दलले पनि देखाएको अवस्था छैन् ।
अब प्रश्न उठ्छ ओली, प्रचण्ड र नेपाल मिल्ने ठाउँ कहाँ छ ?
राजनीतिक धारमा कसले कडा खेल खेल्न सक्छ,सत्ता हातमा लिने बाजी कसले जित्ने, आम–नेपाली जनतालाई आफ्नो पञ्जामा कसरी लिने, नेपाली राजनीतिमा कसको रै–रबाफ बढी छ जस्ता तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका ओली, प्रचण्ड र नेपाल मिल्ने ठाउँ तत्कालै कहिँ देखिने अवस्था छैन् ।
यसो भन्दै गर्दा, यता गठबन्धनको आयु पनि दिर्घकालिन हो भनी हाल्ने अवस्था छैन् । अथवा योचाहिँ पक्कै आंकडा गर्न सकिन्छ कि आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा बाधिएका दलहरुले चित्त बुझ्ने गरी सिट पाए भने गठबन्धन कायम नै रहने देखिन्छ । तर, स्थानीय तह चुनवामा बहुमत हात पारेको कांग्रसले माओवादी र एसले मागेजति सिट नदिएमा,अवमूल्यन गरेमा भने प्रचण्ड र माधव नेपाल एमालेसँग तालमेल गर्ने सम्भावना रहन्छ ।
कम्युनिष्टहरु एक ठाउँमा हुने परिस्थिति सैद्धान्तिक, वैचारिक र वामेदवको प्रयासभन्दा पनि सिट बाँडफाडको प्रयाससँग जोडिएको प्रष्ट बुझ्न सकिन्छ । पहिला भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्वार्थकै कारण चिरफार भएको थियो । स्वार्थमै भत्किएको कम्युनिष्ट विभाजित भएर नै अहिले गठबन्धन बन्न पुगेको आम–जनमानिसको बुझाई छ । अब आसन्न प्रतिनिधि–सभा निर्वाचनमा भने मिलेर जाने हो कि गठबन्धलाई कायम गरेर लैजाने हो ? त्यो भने गौतको कम्युनिष्ट एक पार्ने अभियानले भन्दा पनि सिट बाँडफाडले निर्धारण गर्ने ठाउँमा मूल्याङ्कन गर्न सकिने माहोल खडा भएको छ ।










